चन्द्रकला भण्डारी/ भद्रपुर । झापाका कनकाई नगरपालिकाले शुरु गरेको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ ।
यो कार्यक्रम प्रभावकारी भएसँगै जिल्लाका अन्य स्थानीय तहले पनि सुत्केरी पोषण कार्यक्रम शुरु गरेका हुन् । झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा पहिले कनकाई नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो ।
विसं २०७४ साउनबाट शुरु गरेको यो कार्यक्रमबाट हालसम्म ४३० सुत्केरीले पोषणअन्तर्गत पाउने सेवा सुविधा लिएको नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद मिश्रले बताए । यो कार्यक्रमअन्तर्गत नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत दुई हजार रुपैयाँ रकम प्रदान गर्ने व्यवस्था गरेको छ । शुरुमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण, गर्भ जाँच र सुत्केरी हुने महिलालाई दुई केजी घ्यू, क्यालसियम र झुल घरमै पु¥याउने गरेको थियो । बजारबाट खरिद गरिने ध्यूमा कैफियत पाएपछि हाल नगद रु दुई हजार प्रदान गर्दै आएको उनको भनाई छ ।
‘उपमेयर सुत्केरी पोषण कार्यक्रम’ नाम राखेर नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले नगद ५० हजार रुपैयाँ जम्मा गरेर कोष नै स्थापना गरेकी थिइन्। सोही कोषमा नगरपालिकाले प्रत्येक वर्ष पाँच लाख रुपैयाँ थपेर खर्च गर्दै आएको छ । उनले भने, “सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”
विसं २०६८ को जनगणनाअनुसार ४१ हजार जनसङ्ख्या रहेको नगरपालिकामा हाल बढेर ४७ हजार पुगेको सूचना अधिकारी मिश्रको भनाइ छ । उनले भने, “मुसहर, सन्थाललगायतका अतिविपन्न परिवारलाई यो कार्यक्रमले राहत पुगेको छ । नाम लेखाइसकेका ४० ले अझै सुविधा लिन बाँकी छ ।” स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।
मेचीनगर नगरपालिकाले समेत सो कार्यक्रम चालु आर्थिक वर्ष २०७६/०७७ को साउनबाट शुरु गरेको छ ।पाँच लाख रुपैयाँ बजेट राखेर शुरु गरेको कार्यक्रममा हाल सो बजेट सकिएर रु १० लाख थप गरी १५ लाख रुपैयाँ बनाएको नगरका सूचना अधिकृत पदमबहादुर कार्कीले बताए ।
उनका अनुसार चालु आवको सात महिनाको अवधिमा २५० सुत्केरी महिलाले सुत्केरी पोषण कार्यक्रमअन्तर्गतको सेवा लिएका छन् । नगरपालिकाले प्रतिसुत्केरी नगद नै दुई हजार श्रपैयाँ दिने गरेको उनले बताए । उनले भने, “सेवा लिन आउने बढी अति विपन्न परिवारका करुवा, किसान, सन्थाललगायत छन् ।” गर्भवती अवस्थामा स्वास्थ्य जाँच गराउन स्वास्थ्य केन्द्र नपुग्ने उनीहरु सुविधा पाउने भएपछि नियमितरुपमा स्वास्थ्य जाँच गराउन र सुत्केरी हुन अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा पुग्ने गरेको नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख शशी राईले बताए ।
उनले शुरुमा घरघरमा स्वास्थ्य स्वयंसेवक महिला पठाएर गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन अभिप्रेरित गर्दासमेत नजाने महिला सुविधा पाएसँगै अहिले आफैँ अस्पताल पुग्ने गरेको बताए । मेचीनगरमा मात्र लोपोन्मुख समुदाय किसान, मेचे, सन्थाल, मुण्डा, माझीलगायत २३ जातिको बसोवास रहेको छ । हालको मेचीनगर नगरपालिकाको जनसङ्ख्या एक लाख ३० हजारको हाराहारीमा रहेको सूचना अधिकृत कार्कीको भनाइ छ ।
त्यसैगरी यो कार्यक्रम झापा गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको वडा नम्बर १० ले समेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख मीना पराजुलीले सुत्केरी पोषण कार्यक्रमले गरिब तथा अतिविपन्न परिवारका महिलालाई राहत पुग्ने बताउँदै झापाका १५ वटै स्थानीय तहमा लागू हुनुपर्ने बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया