पृथ्वीनारायण शाह जन्मनु अघि उनकी आमाले देखेकी थिईन यस्तो सपना 

काठमाडौं । गोरखाधिपति नरभूपाल शाहले चार विवाह गरेका थिए । राजवंशमा बहु विवाहको प्रचलन प्राचीन कालदेखि नै चलि आएको देखिन्छ ।

त्यो बेला चाँडै सन्तान नभएको खण्डमा पनि बहु विवाह गर्ने सामाजिक नियम रहेको थियो । त्यसको अतिरिक्त राजवंशमा विशेष गरेर बहु-विवाहको प्रथा कायम भएको आधार राजनैतिक कारण पनि देखिन्छ ।

सम्भवतः यिनै कारणले प्रेरित भएर नै राजा नरभूपाल शाहले पनि चार वटा विवाह गरेका थिए भनेर भन्न सकिन्छ । खाँचीकी राजकन्या चन्द्रप्रभावती देवी उनकी जेठी रानी थिईन् ।

पाल्पाली राजाकी कन्यारत्न कौशल्यवती देवी उनकी माहिली रानी थिईन् भने पर्वत राज्यकी राजकन्या बुद्धिमतिदेवी उनकी साहिली रानी थिईन् र उनकी कान्छी रानी मुभद्रावती देवी तनहुँकी राजकुमारी थिईन् ।

एक रात राजा नरभूपाल शाह आफ्नी माहिली रानीको खोपीमा सुतेका थिए । रानी कौशल्यावती देवीले प्रहर रात्री बाँकी छँदा सूर्यलाई निलेको सपना देखिछन् । स्वप्नको आशय बुझ्न नसकेर सारा घटना नरभूपाल शाहलाई सुनाईन् ।

रानीको मुखबाट यस्तो घटना सुन्ने बित्तिकै मनै मनमा अत्यन्त प्रसन्न भएर राजाले रानीलाई बेस्सरी पिटेछन् । केही आराम नगरिकन स्वप्नको घटना सुनाउँदैमा यसप्रकारको पिटाई खाएको हुनाले रानीलाई आत्मग्लानी भएछ र उनले बाकी रात्री रोएरै व्यातित गरिछन् ।

सूर्यदय भएपछि राजा नरभूपाल शाहले आफूले अनायस पिटेको कारण बताउँदै भने कि तिमीले बडो असल स्वप्न दैख्यो । यदि यो स्वप्न देखेर तिमी फेरि निदाएकी भए स्वप्नको फल बेकार हुने थियो ।

भनि राम्रो सपना देखेपछि बाँकी रात्री सुत्नु हुँदैन भनि बृत्तान्त सुनाएका थिए । त्यसपछि राजाको कुरा सुनेर रानीलाई अत्यन्त प्रसन्नता भयो ।

राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यवतीको गर्भमा सात महीना सम्म रही वि.स. १७७९ पौष शुक्ल प्रतिपदा २७ गते पृथ्वीनारायण शाह सूर्यको अंश लिएर पृथ्वीमा अवतीर्ण भएका थिए ।

जेठी माहारानी चन्द्रप्रभादेवीबाट पनि १० महीना पूर्ण गरी उसै दिन पृथ्वीनारायण शाह जन्मेको १५ घडी पछि वृन्दकेशर शाह पैदा भएका थिए ।

जन्मका जेठा र गर्भका जेठा भन्ने प्रश्नलाई लिएर दरवार भित्र कोलाहल मच्चिरहेका बेला वृन्दकेशर शाहको असामहिक मृत्यु भयो र को राजा हुने प्रश्न आफैँ दबेर गयो ।

पृथ्वीनारायण शाह महत्वकांक्षी राजा थिए । उनको कुण्डली बिश्लेषण गर्दा सिंह लग्नमा जन्मिएका उनको पञ्चम भावमा सूर्य लगाएत अन्य पाँचवटा ग्रह एकसाथ बसेर उत्कृष्ट राजयोग बनेको थियो ।

राम्रो वा शुभ समयमा जन्मेका हुनाले उनले जहाँ जहाँ पाईला राख्दै गए त्यहाँ जित्दै गएको ईतिहासबाट स्पष्ट हुन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?