पाथरखोलामा २० भेडा मरे : उपचार गर्न जनशक्ति छैन

मानदत्त रावल / जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । “भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन ।

“जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।” उनले भने । बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ ।

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिए । उनले भने, “ औषधि दिएर पठाएका छौँ ।” शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ । अहिले एकजना मात्र कार्यरत रहेका छन् । उनले भने “ एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ । ”

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिए । “पर्याप्त कर्मचारी छैनन्”, उनले भने, “भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?