विकास र सुविधा लिएर आएको त्यो ‘जन्मदिन’

रवीन्द्र काफ्ले/ पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पु-याई गाउँ–गाउँका वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जव यो कार्य सार्थक भयो, नागरिकका घर–घरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयमा हर्ष छायो । बसाईँ हिडेका छिमेकी पनि फर्केर आउने स्थानीय गनबहादुर घिमिरेको विश्वास छ । यहि स्थानीयको खुशीमा खुशी साट्ने सौभाग्य मिल्यो प्रधानमन्त्री केपी शर्मा ओलीलाई । “यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो”, आफ्नो जन्म दिन आफ्ना लागि औधी खुसीको क्षण रहेको वताउँदै प्रधानमन्त्री ओलीले भने । यहाँ ५१ करोड ३० लाख रुपैयाँको लागतमा यासोक वृहत पम्पिङ खानेपानी आयोजना सम्पन्न भएको थियो ।

प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, १ हजार ११५ घरमा पुगेको विद्युतको उद्घाटन । कुम्मायक गाउँपालिकामा पर्ने साविकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अध्याँरोमुक्त घोषणा गर्दै प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउने अवसर पाए । चार वर्षअघिबाट निर्माण सुरु भई यहाँ  १० करोड ५१ लाख ५१ हजार ७७६ रुपैयाँ लागतमा विद्युतिकरण सम्पन्न भएको थियोे । धेरै पटक गम्भीर स्वास्थ्य समस्यालाई झेलेर पनि समृद्ध राष्ट्र निर्माण गर्ने दृढ सङ्कल्प बोकेर हिँड्नुभएका प्रधानमन्त्री ओलीको ६९औँ जन्मदिन निकै विशेष रह्यो । जन्मदिनको अवसरमा कुम्मायकको यासोक खेल मैदानमा भेला भएका हजारौँ सर्वसाधारणले प्रधानमन्त्रीलाई सामूहिक रुपमा जन्मदिनको शुभकामना ब्यक्त गर्दै सुस्वास्थ्य र दीर्घायूको कामना गरे । चिट्टिक्क पारिएको यासोक बजारमा दर्जनौँ स्थानमा विभिन्न संघ संस्थाको प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना ब्यक्त गरिएका ब्यानरहरु राखेका थिए ।

राजनीतिज्ञहरु माथि आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेको आरोप लागिरहन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मगाउँमा हालसालै बाटो पुग्यो । उनकै इच्छामा यहाँ हेलिप्याड बन्यो । जन्मदिनको अवसरमा विकासको पोको बोकेर प्रधानमन्त्री जन्मघर पुग्नुभयो । ‘ठाउँ फेरिएको, चिन्नै नसकिएको प्रतिक्रिया’ प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफ्नो जन्मघर राम्रोसँग चहारे ।
शीर्ष नेताले जनताका कुरा सुन्दैनन्, प्रत्यक्ष रुपमा साक्षात्कार गदैनन् भन्ने आरोप प्रधानमन्त्रीका हकमा कहिँ कतै लागू हुन्न भन्ने उनको जन्मथलो तेह्रथुमको आठराई स्थित जन्मघरमा गरिएको कार्यक्रमले देखाउँथ्यो । प्रधानमन्त्रीले त्यहाँ आएका जेष्ठ नागरिकका गुनासा मसिनो गरी सुन्नुभयो । धेरैसँग उनले दोहोरो अन्तक्र्रिया गरे । कतिपयले आफ्ना गुनासा प्रधानमन्त्रीलाई सुनाउन पाएको भन्दै आँशु नै झारे । धेरै जेष्ठ नागरिकहरुले खानेपानीको प्रवन्ध गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरे । कतिपयले त आफ्ना ब्यक्तिगत समस्या र दुखेसो समेत पोखे । परिवारका अन्य सदस्यले नहेरेको, हेलां होचो गरेको गुनासो पनि प्रधानमन्त्रीलाई सुनाए । धेरैका गुनासा सुनेपछि प्रधानमन्त्री निकै भावुक देखिए । उनले सधैँजस्तो रमाइलो मन्तब्य राखे । मलिन अनुहारमा प्रधानमन्त्रीले विकास र समृद्धिका लागि के कस्ता प्रयास गर्न सकिन्छ भन्ने चर्चा गरे ।

जन्मदिन भएकाले प्रधानमन्त्रीलाई उपहार दिने र सुस्वास्थ्य र दीर्घायूको कामना गर्नेको संख्या ठूलो थियो । जन्मदिनको शुभकामनासँगै त्यहाँ उपस्थित हजारौँ स्थानीयले प्रधानमन्त्रीको दीर्घ र स्वस्थ जीवनको कामना गरे । प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक समृद्ध राष्ट्र बन्न सकोस् भन्ने आठराईवासीको कामना थियो । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना ब्यक्त गर्न पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँका दशौँ हजार स्थानीयवासी उनको जन्मघर पुगेका थिए ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना ब्यक्त गर्न सञ्जु बुढाथोकी झापाको दमकबाट आठराईको इवामा आइपुगेका थिए । गाउँको सानो झुपडीमा जन्मेर ठूलो संघर्ष गरेर प्रधानमन्त्री बन्नु सामान्य कुरा नभएको बुढाथोकीको ठम्याई थियो । प्रधानमन्त्रीसँगै आएका उनी पिता मोहनप्रसाद ओलीले समेत स्थानीयसँग अन्तक्र्रिया गरे । उनको जन्मघरमा फोटो र सेल्फी खिच्नेको भीड नै लागेको थियो, यो ऐतिहासिक क्षण भएको धेरैको अनुभूति थियो । खुशी भएर प्रधानमन्त्री भेट्न आएका स्थानीय दुई घण्टापछि प्रधानमन्त्री आउँदा पनि खुशी नै भएर फर्केका थिए ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि लिनुभएको सङ्कल्पको एक हिस्सा उनको ६९औँ जन्मदिन रहन गयो । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युतको प्रत्याभूतिको घोषणा गरेका प्रधानमन्त्रीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गरे । हिजो ९ किलोमिटर सडक  ५४ करोडको लागतमा कालोपत्रे गर्ने ठेक्का भएकोमा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्रीले घोषणा गरे । यस्तै प्रधानमन्त्रीले खरिद गरेको २ सय ६० रोपनी जग्गामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरियो । प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यको अध्यक्षतामा रहेको केपी शर्मा ओली ट्रष्टले शिक्षालय बनाउने घोषणा गरिएको हो ।

मदन भण्डारी मार्गसँग जोड्ने सडकको शिलान्यास तथा पूर्वी पहाडकै निम्ति महत्वपूर्ण कृषि शिक्षालय स्थापनाको घोषणा गरे । जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उनकै इच्छाअनुसार उनको जन्मदिनको अवसरमा यहाँका चार सय जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरिएको थियोभने दुई हजार विद्यार्थीलाई डायरी र कलम वितरण गरिएको थियो । यस्तै शसस्त्र द्वन्द्वमा विस्थापित भएको नेपाल बैङ्कको आठराईको सक्रान्तिबजार स्थित शाखाको हिजो नै उद्घाटन गरिएको थियो ।

आठराईवासी समेत रहेका प्रदेशसभा सदस्य तेजमान कन्दङ्वा प्रधानमन्त्रीले जन्मदिनमा विकासको उपहार ल्याएको बताउछन् । “पाँचथर र तेह्रथुमको पहाडका ग्रामीण जीवनलाई जिवन्तता दिन प्रधानमन्त्रीको जन्मदिन एक विशेष अवसर रह्यो”, कन्दङ्वाले भने, “विकासको प्रतिफल नपाएको ग्रामीण भेगका जनतामा उत्साह छाएको छ ।” प्रधानमन्त्री सहित मन्त्रीहरुको टोलीको उपस्थितिले नागरिकलाई सरकार टाढा छैन् भन्ने अनुभूति दिएको कन्दङ्वाको तर्क छ ।

प्रधानमन्त्रीबाट उद्घाटन र शिलान्यास भएका सबै योजनाहरुको विशिष्ट महत्व रहेको र उनको जन्मदिनमा यी सबै कार्य हुनु एक सुखद् संयोग रहेको कन्दङ्वाको बुझाई छ । मदन भण्डारी मार्गसँग जोडिने सडकले तेह्रथुम र ताप्लेजुङका एक दर्जन साविकका गाविसका मुख्य वस्तीहरुलाई जोड्दछ । “यो सडकले मुलुकको परिवर्तन र जनताको अधिकारका लागि लड्ने प्रधानमन्त्री केपी शर्मा ओली र जननेता मदन भण्डारीलाई जोड्छ”, प्रदेशसभा सदस्य कन्दङ्वाले भन्नुभयो, “पूर्वी पहाडको गाउँमा गरीबको झुपडीमा जन्मिएर पनि यो देशको रुपान्तरणमा विशिष्ट योगदान दिने ब्यक्तित्वलाई राज्यले नै जोड्नुपर्छ । संयोगले केपी शर्मा ओली ज्यू प्रधानमन्त्री हुनुभएकाले उहाँकै अग्रसरतामा मदन भण्डारी मार्ग अघि बढ्यो ।”
यस्तै बसाईँसराई, खानेपानी तथा सिंचाई सुविधाको अभाव, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता सेवाका दृष्टिले पछि परेको प्रधानमन्त्रीको जन्मथलोमा सिटिइभिटीबाट सम्बन्धनप्राप्त कृषि शिक्षालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाले आठराई सहित पूर्वी पहाडलाई नयाँ उर्जा दिने कन्दङ्वाको भनाई छ । “जसरी आठराई राजनीतिक परिवर्तनको ज्योती छर्ने ठाउँ भयो, त्यसरी नै ब्यवहारिक शिक्षा, कृषिको आधुनिकीकरण र ब्यावसायिक पशुपालनका लागि प्राविधिक शिक्षालयले पूर्वी पहाडमा नयाँ उर्जा दिन्छ” कन्दङ्वाले भने । आठराई नगदेवाली र फलफूल उत्पादनमा समेत अब्बल क्षेत्र रहेकाले यहाँको उत्पादनलाई बढावा दिन र ब्यावसायिक बनाउन कृषि शिक्षालयले सघाउ पु-याउने उनको अपेक्षा छ । यस्तै वित्तीय पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकका निम्ति नेपाल बैङ्क लिमिटेडको शाखाको पुनस्र्थापना महत्वपूर्ण हुने कन्दङ्वाको ठम्याई छ ।

आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू प्रधानमन्त्री सहित मन्त्रीहरुको उपस्थिति, महत्वपूर्ण आयोजनाहरुको शिलान्यास तथा प्रधानमन्त्रीबाट विद्यार्थी र जेष्ठ नागरिकलाई प्राप्त सम्मान र उपहारले गाउँपालिकावासी खुशी भएको बताउछन् । नेताहरुले गाउँलाई वेवास्ता गर्छन् भन्ने आरोप चिर्दै आठराई सहित तेह्रथुम र पश्चिम ताप्लेजुङको विकासको प्याकेज प्रधानमन्त्रीले ल्याएको अध्यक्ष लिम्बूको भनाई छ । प्रधानमन्त्री आउने भएपछि गाउँ–गाउँबाट बालबालिकादेखि जेष्ठ नागरिकसम्म उनलाई भेट्न र उनका कुरा सुन्न आएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाई छ । “दशौँ हजारको उपस्थिति रह्यो । सबैले प्रधानमन्त्रीबाट विकासका योजनाको घोषणा हुने अपेक्षा राख्नुभएको थियो, प्रधानमन्त्रीबाट त्यसै अनुसारको घोषणा पनि भयो”, गाउँपालिका अध्यक्ष लिम्बूले भने, “सबैले प्रधानमन्त्री ज्यूलाई जन्मदिनको शुभकामना पनि दिए ।”

धेरैले खानेपानीको समस्या राखेर हुनसक्छ, प्रधानमन्त्रीले रमाइलो गरी खानेपानी मन्त्रीमा बिना मगर रहनुको कारणबारे चर्चा गरे । “महिलाले महिलाको समस्या बुझेको हुन्छ, महिलाले नै खानेपानीको समस्या झेल्नुपर्छ त्यसैले महिलालाई नै खानेपानी मन्त्री बनाइयो” प्रधानमन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?