जुत्ता पालिश गर्ने सन्नीले जिते इन्डियन आयडल ११, सडकदेखि उपाधिसम्मको संघर्ष कथा

एजेन्सी । आइतवार राति चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आयडल ११’को ग्रान्ड फिनाले सम्पन्न भयो । पञ्जाबको भटिण्डामा बस्ने सन्नी हिन्दुस्तानीले प्रतियोगिता जिते । इन्डियन आयडलको उपाधि सँगै उनले २५ लाख नगद पुरस्कार पनि प्राप्त गरे ।

शोमा पहिलो र दोस्रो रनर अपलाई ५ ५ लाख पुरस्कार राशी प्रदान गरिएको छ ।

बुट पालिश गर्ने सन्नीको संघर्ष यात्रा…

सन्नीको इन्डियन आयडलसम्मको यात्रा निक्कै प्रेरणादायी छ । बठिण्डाको एउटा सानो गाउँबाट सपना नगरी मुम्बइसम्म आउनु र आफ्नो परिवार, गाउँसमाजको शिर उच्च राख्नु कुनै सपनाभन्दा कम छैन ।

सन्नी निम्न वर्गीय परिवारका हुन् । इन्डियन आयडलसम्मको यात्रा उनका लागि खुब संघर्षमय रह्यो ।

शोमा आउनु अघि आफूले जुत्ता पालिश गर्ने गरेको सन्नीले बताएका छन् । उनकी आमा सडकमा बेलुन बेच्थिन् ।

सन्नी आफ्नो परिवार कतिसम्म गरिब थियो भन्ने कुरा बताउँदै सुनाउँछन् कि कहिलेकाहीँ घरमा केही खानेकुरा नहुँदा उनकी आमा चामल माग्नलाई छिमेकीकोमा समेत जान्थिन् । यस्तो विवशताप्रति सन्नीलाई निकै नराम्रो लाग्ने गरेको उनले बताए ।

तर, अहिले इन्डियन आयडलको उपाधि जितेपछि सन्नी निकै खुशी छन् किनकी अब उनकी आमाले फेरि कहिल्यै त्यसो गर्नुपर्ने छैन । सन्नी आफ्नी आमालाई ती सबै खुशी दिन चाहन्छन् जसको उनी हकदार हुन् ।

साथीहरुबाट उधारो लिएर पुगेका थिए इन्डियन आयडल

शोमा आउनुअघि जुत्ता पालिश गर्ने सँगसँगै बस बिसौनी र रेल स्टेशनमा गीत गाएर सन्नीले आफ्नो र परिवारको गुजारा चलाइरहेका थिए ।
एकदिन हिन्दुस्तानकै आवाज बनेर पञ्जाब र बटिण्ठाको नाम देशमै उच्च राख्छु भन्ने उनले कल्पना गरेका थिएनन् । चलचित्रमा गाउने अवसरहरु मिल्ला भनेर उनले सोचेका समेत थिएनन् ।

उनी भन्छन्, ‘मलाई अझै याद छ जब मेरा साथीहरु मलाई रियालिटी शोमा जाने सल्लाह दिन्थे तर, अडिसन दिनलाई समेत मसँग पैसा थिएन । फेरि एकदिन साथीहरुले मलाई इन्डियन आयडलको बारेमा बताए । एकजनाले त मलाई यहाँ आउनलाई उधारो पैसा समेत दियो ।

सन्नी अगाडि थप्छन्, ‘मेरी आमाले मलाई शुरुमा अडिसनमा आउनै दिनुभएको थिएन । उहाँलाई मात्र एउटा मौका दिन आग्रह गरें र, आमाले मलाई त्यो मौका दिनुभयो । मैले केही तयारी नै गरेको थिइन । नुस्रत साहबको २,३ वटा गीत सुनेको थिएँ । त्यही गाएपछि अडिसनमा छानिएँ ।

शोका दौरान सन्नीले पाएका थिए यस्ता अफर

चलचित्रबाट आएका अफरहरुका बारेमा सन्नी बताउँछन् कि उनलाई तब एकदमै खुशी महशुस भएको थियो जब अभिनेता आयुष्मान खुराना आफ्नो चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को प्रमोसनका लागि आफ्नै पूरै टिमसँग शोमा आएका थिए । शोको दौरान उनले घोषणा गरेका थिए कि जो इन्डियन आयडल ११ को विजेता बन्छ उसले टि सिरिजको अर्को चलचित्रमा गीत गाउने अवसर पाउँछ ।

सन्नी आफ्नो सफलताको सबै श्रेय आमालाई दिन्छन् ।

शोकै दौरान सन्नीले इमरान हाश्मीको चलचित्र ‘दि बडी’मा आफ्नो आवाज दिने पहिलो अवसर पाएका थिए । त्यसपछि उनले कंगना रनावतको चलचित्र ‘पंगा’मा पनि आफ्नो आवाज दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?