पुलबाट ७३२ घरधुरी लाभान्वित

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । उन्साठ्ठी दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नं वडाका ७४३ घरधुरीका तीन हजार ७१८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए।

झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत पुल निर्माण गरेको हो । कूल रु ३३ लाख ५९ हजार ६०९ लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले रु दुई लाख एक हजार ९६ अनुदान र उपभोक्ताको रु ६७ हजार ३२ बराबरको श्रमदान रहेको पुल निर्माणमा टिबीएसयुले थप रकम र निर्माण सामग्री उपलब्ध गराएको थियो ।

लठ्ठा र बुलडग ग्रिप्समा दुई लाख २५ हजार ८२८ रुपैयाँ, स्थानीय निर्माण सामग्री र मजदुरको ज्यालामा १६ लाख १५ हजार ८२० रुपैयाँ, ग्याबिन तार, फलामे सामग्री, छड, सिमेन्ट, स्टिल पार्टस्, स्टिल डेग र सामान ढुवानीमा १० लाख ५६६ रुपैयाँ, गैरसरकारी संस्थाको सेवा शूल्कमा दुई लाख तीन हजार ७६ रुपैयाँ र कामदारको दुर्घटना बीमामा ३८ हजार १८८ रुपैयाँ खर्च भएको छ ।

यही २०७६ जेठ १९ गते गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७७ असार ३० गतेसम्म पुल निर्माण सक्ने सम्झौतामा उल्लेख थियो । उपभोक्ता समितिको सक्रियताले लक्ष्यभन्दा पाँच महिनाअघि नै पुल निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

पुल बनेपछि विशेषगरी बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको र सुरक्षित यात्रा गर्न पाएको स्थानीयवासी दलबहादुर पुनले बताए । धापुङ, महेशगाउँ, खर्क, दहलगायत बस्तीका बासिन्दालाई सुविधा पुगेको छ । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । न्यूखोलासँगै गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा १०४ मिटर लामो अर्को झोलुङ्गे पुल निर्माण भएको छ ।

४७ लाख ८८ हजार ४६० रुपैयाँ लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट कोक्रवाङ, भाइवाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?