नेप्से परिसुचक साढे २ वर्ष यताकै उच्च, “अर्थमन्त्री हट्ने हल्लाले यस्तो भयो” !

काठमाडौं । आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्ब भन्दा माथि पुगेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा माग र आपूर्तिको सन्तुलन विग्रिन गई नेप्सेमा उच्च वृद्धि भएको छ ।

आइतबार शेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको भएको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ । जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताए । उनले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको बताए ।

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर बजारलाई सपोर्ट गर्नेगरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको छ । त्यस्तै नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी खडा गर्नुले पनि लगानीकर्तालाई उत्सहित बनाएको छ । लगानीकर्ता प्रयाग ओझाले भने बजार प्रति लगानीकर्ताको आत्मविश्वाश बढ्ेकाले नै आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुवैमा उच्च वृद्धि भएको बताए ।

यस्तै लगानीकर्ताले शेयरबाजरका विरोधिका रुपमा लिदै आएका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने हल्लाले पनि आइतबारको बजारमा असर पारेको देखिन्छ । खतिवडा राष्ट्रिय सभाबाट हटेपछि अर्थमन्त्रीबाट समेत स्वतः हटने भएकाले लगानीकर्ता सकारात्मक देखिएका हुन् । लगानीकर्ताको नजरमा अर्थमन्त्री खतिवडा नरुचाइएका पात्र हुन् । आइतबार राष्ट्रिय सभा सदस्यमा खतिवडाको ठाउँमा बामदेव गौतमलाई ल्याउने हल्ला शेयर बजारमा चलेको थियो ।

यससँगै बजारमा कारोबार खुलेको पहिलो २० मिनेटमा नेप्से ४३ अंकले उक्लिएको थियो । नेप्सेमा उच्च वृद्धि भएको देखेपछि केही लागनीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गई नेप्से १९ अंकको वृद्धिमा झरेको थियो । तर फेरी शेयरको माग बढ्न थालेपछि करिब ३ घण्टाको अवधिमा नेप्से ७५ अंकले माथि उक्लिएको थियो । तर फेरी अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा नेप्से ४५ अंकको वृद्धिमा झरेको थियो । अन्त्यमा शेयरको माग पुनः बढ्न जाँदा नेप्से ६९ दशमलव ५६ अंकले बढेर बन्द हुन पुग्यो । आइतबार एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी लगायतका कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । फस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका कम्पनीका शेयधरनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले कमाएका छन् । लगानीकर्ताको आकर्षण बैंकिङ समुह र व्यापार समुहमा सबैभन्दा बढी देखियो । जसका कारण बैंकिङ समुहमा ७ दशमलव १५ प्रतिशतको वृद्धि र व्यापार समुहमा ८ दशमलव २५ प्रतिशतको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?