थ्रीस्टार आहा रारा गोल्ड कपको सेमीफाइनलमा

पोखरा, १५ माघ – पोखरामा जारी १६ औंँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टार एपिएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थप समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका लागि रञ्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । एपिएफका लागि नवीन लामा, अञ्जन विष्ट र रञ्जन विष्टले गोल गरे । एपिएफका राजेन्द्र रावलले हानेको बललाई थ्रीस्टारका किपर एलेन न्यौपानेले गोल हुनबाट रोकेका थिए । न्यौपाने नै आजको खेलमा उत्कृष्ट खेलाडी घोषित बने । थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले हालै इटहरीमा खेलेर आएका कारण खेलाडी थकित अवस्थामा रहे पनि टाइबे्रकरलाई पूर्णरुपमा सदुपयोग गर्न सकिएको बताए । एपिएफ क्लबका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा नै खेलाडीबीच तालमेल मिल्न नसकेको बताउँदै दोस्रो हाफमा पनि गोलका अवसर उपयोग हुन नसकेको स्पष्ट पारे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?