चेल्सीले टोट्टनहामलाई २–१ पराजित गर्यो

प्रिमियर लिग फुटबलमा चेल्सीले टोट्टनहामलाई २–१ पराजित गरेको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले टोट्टनहामलाई हराएसँगै चेल्सीको च्याम्पियन्स लिग छनोटको दौडमा राहत मिलेको छ । हारले टोट्टनहामलाई केही घाटा लागेको छ ।

प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा ओलिभर गिरोड र मार्कुस अलन्सोले गोल गरे । टोट्टनहामले आत्मघाती गोल उपहार पाएको थियो । १५औं मिनेटमा ओलिभर गिरोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । चेल्सीले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल थपेको थियो । ४८औं मिनेटमा मार्कुस अलन्सोले रोस बार्कलीको पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसपछि ८९औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरको प्रहार आत्मघाती गोल भएपछि टोट्टनहामलाई सान्त्वना गोल मिलेको थियो । खेलमा लगातार गोलको अवसर बनाएको चेल्सी जितसँगै चौथो स्थानमा छ । चेल्सीले २७ खेलबाट ४४ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको टोट्टनहामको ४० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?