सङ्खुवासभा बन्यो ५३ औँ साक्षर जिल्ला घोषणा

सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्नु जरुरी भएको बताउनुभयो । शिक्षालाई श्रम, सीपलाई उत्पादन र रोजगारीसँग, उत्पादन र रोजगारीलाई समृद्धिसँग जोड्नुपर्न धारणा उहाँले राख्नुभयो । मन्त्री पोखरेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योतिबाट वञ्चित हुन नदिने प्रतिबद्धता गर्नुभयो । उहाँले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय सरकारले पनि सहयोग र सहकार्यबाट अघि बढ्न जरुरी छ भन्नुभयो । अबको शिक्षा राष्ट्रिय शिक्षा नीतिभित्रै रहेर चल्ने उहाँले बताउनुभयो । जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका कारणले जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख केशव भट्टराईले जानकारी दिनुभयो । अन्य चार प्रतिशतलाई पनि आगामी वर्ष साक्षर बनाइने उहाँको भनाइ थियो ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?