लायन्स क्लबको सहयोगमा विद्यालय भवन

काठमाडौं । लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको हो । गत वर्ष फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गभर्नर इन्दु लम्सालले उद्घाटन गरे । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता हुने जानकारी दिए । लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ । यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास –१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो ।

सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना 

भीमाद नगरपालिका–८ कोखेस्थित हिमालयन माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ पोखरा ग्रिन हिल र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय स्थापनाका लागि ग्रिनहिल र मोनाराम फाउण्डेशनले एक लाख ५० हजार सहयोग गरेका छन् । पुस्तकालयमा रु ५० हजार बराबरको पुस्तक सहयोग गरिएको छ भने थप पुस्तक खरिद र पुस्तकालयको स्तरोन्नतिका लागि एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स क्लब अफ पोखरा ग्रिनहिलका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार अक्षयकोषबाट प्राप्त हुने व्याजबाट पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक खरिद गर्न सकिनेछ ।

उक्त पुस्तकालयको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे । सो अवसरमा उनले पुस्तकले मानिसलाई अध्ययनशील बनाउने भएकाले विद्यालयमा स्थापना गरिएको पुस्तकालयको सदुपयोग गर्न आग्रह गरे ।

पुस्तकालयमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई मध्यनजर गरी विभिन्न ज्ञानमूलक पुस्तक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद शर्माले जानकारी दिए । विद्यालयमा २५० विद्यार्थी, २० शिक्षक तथा कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?