राजधानीकै पुनःनिर्माणको काम सुस्त, कति घर छन् लाभग्राही सूचीमा?

काठमाडौँ, १५ माघ – भूकम्पले भत्किएका राजधानी काठमाडौँकै निजी आवास आशा गरेअनुसार पुनःनिर्माण हुन सकेका छैनन् राजधानीमा ४३ हजार ६०९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएकामा हालसम्म एक हजार ४७० घर मात्र पुनःनिर्माण भएको छ । नगरपालिकाहरु कागेश्वरी मनोहरामा ५०, नागार्जुनमा १५३, काठमाडौँमा ५७, गोकर्णेश्वरमा ५००, कीर्तिपुरमा २००, शंखरापुरमा ११०, बूढानीलकण्ठमा २००, टोखामा ५० र चन्द्रागिरिमा १५० गरी एक हजार ४७० घर मात्र पुनःनिर्माण भएका हुन् दक्षिणकाली र तारकेश्वरमा अहिलेसम्म घर पुनःनिर्माण हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । कागेश्वरी मनोहरामा तीन हजार २१६, नागार्जुनमा चार हजार ६९९, कामपामा सात हजार १७१, दक्षिणकालीमा तीन हजार ३३१, गोकर्णेश्वरमा दुई हजार ६००, तारकेश्वरमा पाँच हजार ४६५ कीर्तिपुरमा दुई हजार ६६१, शंखरापुरमा पाँच हजार ४०९, बूढानीलकण्ठमा दुई हजार ५४०, टोखामा एक हजार ५९६ र चन्द्रागिरिमा चार हजार ९२१ लाभग्राही सूचीमा सूचीकृत छन् काठमाडौँमा एक हजार ४८२ ले आफैँ घर पुनःनिर्माण गरेको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख प्रेमप्रसाद घिमिरेले जानकारी दिनुभयो । राजधानीमै पुनःनिर्माण ढिला भएपछि प्राधिकरणले आज ‘निजी आवास पुनःनिर्माण अनुदान वितरण तथा निर्माणको पछिल्लो अवस्था’ का बारेमा स्थानीय तहका प्रमुख एवं उपप्रमुखसँग गरेको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले इन्जिनीयर स्थानीय तहमार्फत खटिनुपर्नेमा अझै जिल्ला आयोजना कार्यान्वयन एकाइ मातहतमै रहेकाले समस्या आएको बताउनुभयो “स्थानीय तहअन्तर्गत प्राविधिक कर्मचारी खटिनुपर्छ, नगरपालिकाका कार्यकारी अधिकृतले नै इन्जिनीयरलाई काममा लगाए पुनःनिर्माणका कामले गति लिन्छ”, उहाँले भन्नुभयो । भूकम्पपीडितले पुनःनिर्माणका लागि स्थानीय तहमा नक्शा पारितका लागि निवेदन दिएको सात दिनभित्र निःशुल्क गर्नुपर्ने व्यवस्था गरिएको जानकारी पनि प्रमुख कार्यकारी अधिकृत भुसालले दिनुभयो प्राधिकरण कार्यकारी समिति सदस्यत्रय चन्द्रबहादुर श्रेष्ठ, हरिराम पराजुली र ध्रुवप्रसाद शर्माले सार्वजनिक, सरकारी र वन क्षेत्रमा बनेका घरबाहेक अन्य जग्गामा बनेका घर भूकम्पले भत्किएको भए पुनःनिर्माणका लागि सिफारिश, नक्सा पारितलगायत कागजात सार्वजनिक मुचुल्काका आधारमा दिन सकिने जानकारी दिनुभयो कामपाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरको मुख्य बजारभित्र धेरै गुठीको जग्गा भएकाले भूकम्पको पौने तीन वर्षसम्म पनि जनता जस्तामुनि नै बस्न बाध्य हुनुपरेको बताउनुभयो । “शहरको भित्री भागमा कतिपय घर अहिले पनि टेकोका भरमा अड्याइएका छन्, यस्ता घर साना परकम्प एवं हल्लाइले पनि भत्कन सक्छन्, जोखिम मोलेर पीडित बस्न बाध्य छन्”,उहाँले भन्नुभयो शंखरापुरका नगर प्रमुख सुवर्ण श्रेष्ठले भूकम्पले भत्किएका घरमध्ये नगरमा १० प्रतिशत घर पनि नबन्ला कि भन्ने चिन्ता बढेको सुनाउनुभयो । “पुनःनिर्माणमा प्राविधिकको समस्या छ, कहिले आउँछन्, कहिले आउँदैनन्, किस्ता पाउनुपर्ने प्रक्रिया पुगेकालाई पनि नपाउने बनाइदिन्छन्, बैंकका कारण पनि दोस्रो किस्ता पाउन सकेका छैनन्, सामान्य मानिसले सहुलियत दरको ऋण पाउन सकेनन्”, उहाँले भन्नुभयो । पुनःनिर्माणमा काठको पनि अभाव रहेको नगर प्रमुख श्रेष्ठको भनाइ थियो तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहराले लाभग्राहीका आधारमा इन्जिनीयर नखटाइँदा पुनःनिर्माणमा समस्या भएको बताउनुभयो । चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले लालपुर्जा नभएका भूकम्पपीडितलाई स्थानीयवासीको सर्जमिनका आधारमा घर बनाउन अनुमति दिइएको बताउनुभयो । जग्गा एकीकरण गरी संयुक्त बस्ती बनाउन लुमन्ती संस्थाको सहयोगमा अनुमति दिइएको उहाँले जानकारी दिनुभयो कीर्तिपुरका नगर प्रमुख गंगाराम महर्जनले थोरै जग्गा भएका लाभग्राहीलाई संयुक्त बस्तीमा राख्नका लागि पहल गर्न माग गर्दै प्रिफ्याबका घरलाई पनि सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापाले नगरमा दुई प्राविधिक मात्र पुग्दा पीडितले पुनःनिर्माण गर्न समस्या झेल्नुपरेको बताउँदै नगरभर दुई जनाले मात्र सहुलियत दरको रु २५ लाख ऋण पाएको जानकारी दिनुभयो गोकर्णेश्वरका उपप्रमुख शान्ति नेपाल, नागार्जुनका उपप्रमुख सुशीला अधिकारीलगायतले सहुलियत दरको ऋण पहुँच भएकाहरुले मात्र पाएको, दक्ष कामदार पाउन नसकिएको, निर्माण सामग्रीको भाउ महंँगो भएको लगायत समस्या राख्नुभयो । नेपाल बैंकर्स एशोशियशनका सचिव अनिल शर्माले प्राधिकरणले बनाएको कार्यविधिअनुसारका कागजात लिएर आउनेले सहुलियत दरको ऋण नपाए दिलाइदिने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?