बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन : कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान अगाडी बढाउन माग गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भूसालले बाँस्कोटाको बर्खास्तीसँगै कारवाही प्रकृयापछि अगाडी बढाउन माग गरेकी छिन् । उनले उक्त घटनामा प्रधानमन्त्री स्वयमले संसदमा आएर जवाफ दिनुपर्ने माग समेत गरिन् । उनले भनिन्, ‘बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन । कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन् । यो विषयमा सत्यतथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहान्छ । प्रधानमन्त्रीले सबैले सुन्ने गरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’

कांग्रेसले बालुवाटार प्रकरणमा जग्गा फिर्ता गरेकाले कारवाही नभएको भन्दै सञ्चारमन्त्रीले राजीनामा दिएका कारण कारवाही हुँदैन भन्न नपाइने बताएकी हुन् । कांग्रेसले आफ्ना मागहरु पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारवाही अगाडी बढाउन माग गरेपनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?