फूलैफूलले झकिझकाउ पशुपतिनाथ, दिउँसै देखियो झिलीमिली (फोटोफिचर)

काठमाडौं । पशुपति क्षेत्रमा यो वर्ष शिवरात्रीका दिन केही नयाँ दृश्य पक्कै पनि देखिनेछ ।

महाशिवरात्रीलाई स्वागत गर्ने तयारीमा विभिन्न देशबाट ल्याइएका फूलहरुले चिटिक्कै सजिएको छ पाशुपत क्षेत्र यतिवेला । यसको जिम्मेवारी लिएका छन्, भारतबाट आएका ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले ।

छिब्बर र शर्माले अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट करिब दुई करोड बराबरका अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया लगायत विभिन्न जात र रङका फूल ल्याएर झिलीमिली बनाउन लागेका हुन् ।

सजावटका लागि करिब २ सय भारतीय कामदारहरु नेपाल आइसकेका छन् । काम धमाधम जारी छ ।

हिन्दूहरुको महान् पर्वमध्ये एक हो महा शिवरात्री । शिवजीको पूजा आराधना गरी व्रत बसेर मनाइने यस चाडमा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा लाखौं दर्शनार्थीहरुको घुइँचो लाग्छ । यस दिन भगवान महादेवलाई जाडो हुने जनविश्वास रहेकोले भक्तजनहरुले आफ्नो घर, चोक, चौतारा, शिवालय, मठ मन्दिर तथा सार्वजनिक स्थानमा आगोको धुनी जगाइ भजनकीर्तन गर्ने परम्परा छ । शिवधुनी बालेपश्चात् जाडो कम हुँदै जाने मान्यता पनि रहिआएको छ ।

यस दिन देशको सबैभन्दा धेरै भीड हुने स्थान हो, पशुपतिनाथ मन्दिर ।

विश्वभरि छरिएर रहेका हिन्दू साथसाथै यस दिनको महिमा र उत्सवलाई नियाल्न चाहने अन्य धर्मावलम्बीहरु यस दिन पशुपति परिसरमै भेटिन्छन् । त्यसैले शिवरात्रीलाई पर्वका रुपमा मात्र नभएर पशुपति क्षेत्रमा मेला जस्तै उल्लासमय वातावरणमा मनाइन्छ । यस वर्ष फूलको सजावटले झन् सुनमा सुगन्ध थपिदिएको छ ।

हेर्नुहोस् फूलैफूलले सजिएको पशुपति परिसर :

तस्वीर : गोकुल पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?