सहकारीले स्वरोजगार बन्दै महिला

डोटी । महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण डोटीका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले आफ्नो परिवारका लागि रकम जम्मा गर्न थालेका छन् ।

सहकारी संस्थाका कारण डोटीका अधिकांश महिला पछिल्लो समय बेफुर्सदिलासमेत हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण डोटीका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको जोरायल गाउँपालिका वडा नं ५ की स्थानीय तुलसी शाहीले बताए ।

विसं २०६९ मङ्सिर १० गते २९ महिलाले १०० को शेयर सङ्कलन गरेर साविकको डौड गाविस ९हाल सायल गाउँपालिका० मा लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरे । हाल उक्त सरकारी संस्थामा सायल गाउँपालिकाका मात्रै कम्तीमा पनि ६०० महिला आबद्ध छन् ।

महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले ८० लाख आफ्नो पूँजी निर्माण गरेको उक्त सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताए । त्यस्तै जिल्लाकै दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा पनि महिला मात्रै आबद्ध रहेको लक्ष्मी महिला बहुद्देश्यीय सरकारी संस्थामा ६३७ जना महिला शेयर सदस्य आबद्ध छन् । उक्त सहकारी संस्थाले छोटो समयमा नै आफ्नो दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरेको अध्यक्ष टङ्का कडायतले बताए ।

जोरायल गाउँपालिकामामा रहेको नमूना सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । उक्त सहकारीको हाल कूल पूँजी एक करोड पुगेको गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताए । जिल्लामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण डोटीका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकासमञ्च नेपालका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताए। सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?