केही दिन तापक्रम स्थिर रहने

काठमाडौँ, १४ माघ – काठमाडौँ उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घटे पनि अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए उन अनुसार अबको तीन दिनसम्म पानी पर्ने बादल देखिँदैन भने न्यूनतम तापक्रम ३ डिग्रीको हाराहारीमा रहनेछ । आज पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो बढे पनि आजदेखि भने केही न्यानो महसुस गरिएको छ यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । यही माघ १० गते सुदूरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेका कारण देशका अधिकांश भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात भएको थियो बदलीसँगै वर्षात्का कारण काठमाडौँको न्यूनतम तापक्रम बढेर ६ डिग्रीभन्दा माथि पुगेको थियो । त्यसयता शनिबारसम्म न्यूनतम तापक्रम बढे पनि काठमाडौँसहित देशभर चिसो बढेको थियो । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री पुगेको थियो । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा कम जुम्लामा ऋणात्मक ५ र सबैभन्दा बढी दिपायलमा २३ डिग्री सेल्सियस तापक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?