जनमतको दुरुपयोग गर्दै सरकार कम्युनिष्ट पद्दती तर्फ उन्मुख भयो : वरिष्ठ नेता पौडेल

धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार राज्य व्यवस्थालाई सर्वसत्तावाद तर्फ उन्मुख गराउदै गएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस धरान नगरसमितिद्धारा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु गरेको दावी गरे ।

उनले भने–‘अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । उनीहरु २०४६ सालमा कम्युनिष्ट नारा चल्दैन भनेर जनताको बहुदलिय जनवाद भनेर जनतालाई झुक्याएका थिए ।’

उनले बहुलवाद मान्ने भनेर जनतासँग भोट मागेर आज दुईतिहाई नजिक पुगेपछि कम्युनिष्ट आर्दश अनुसारको शासन व्यवस्थाको बहस सुरु गरेका जिकिर गरे ।

उनले भने– ‘उनीहरुले आफ्नो इच्छा संविधान बनाउने बेलामा पनि प्रकट गरेका थिए । तर हामीले त्यो बेलामा उनीहरुको इच्छालाई रोकेका थियौ। लोकतान्त्रीक पद्दतीको शासन व्यवस्था हुने गरि संविधान बनायौ । तर अहिले उनीहरु संविधान बनाउने क्रममा देखाएका कम्युनिष्ट आर्दशलाई कानून बनाएर प्रयोग गर्न लागिरहेका छन् ।’

जनमतको दुरुपयोग गर्दै कम्युनिष्टहरु संविधानलाई रद्दीको टोकरीमा फालेर नयाँ नयाँ कानुन बनाउन कम्युनिष्टहरु लागेको उनले बताए । उनले भने –‘हाम्रो कमजोरीका कारण जनताका आँखामा छारो हालेर कम्युनिष्टहरुले जनमत ल्याए । अहिले त्यही जनमतको दुरुपयोग गर्न लागेका छन् । नेपाली जनताले कम्युनिष्टहरुलाई बहुलवाद मास्न कम्युनिष्ट शासन लागू गर्नका लागि मत दिएका होइनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?