ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

प्यूठान । प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पु-याउन नगरपालिकाले पाँचौँ नगरसभाबाट यो निर्णय पारित गरेको हो ।

नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । नगरका १० वटै वडामा यो कार्यक्रम गत साउनबाट शुरु गरिएको छ ।

नगरपालिकाले यो कार्यक्रममार्फत नगरपालिकामा कस्ता खालका बिरामी छन् भन्ने थाहाभएको नगरप्रमुख कक्षपतिले बताए । स्वास्थ्य अवस्थाको स्थिति, तथ्याङ्क सङ्कलन, जनताको अवस्था पत्ता लगाउँदै आएको उनले जानकारी दिए ।

नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ । स्वास्थ्यको पहुँच वृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिका बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुँदै गएको उनले बताए ।

छ महिनामा आठ हजारलाई स्वास्थ्य सेवा

चालू आवको पुस मसान्त अर्थात् छ महिनाको अवधिमा आठ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख गोविन्द घिमिरेले बताए ।

जसमा महिला चार हजार आठ सय २५ रहनुभएको छ भने तीन हजार तीन सय ७६ पुरुषको स्वास्थ्य जाँच गरिएको छ । ज्येष्ठ नागरिकलाई विकासको अनुभूति दिलाउन नगरपालिकाले यो कार्यक्रम शुरु गरेको नगरप्रमुख कक्षपतिले बताए ।

क्षयरोगका बिरामी बढी

वडा नं ३ मा क्षयरोगका बिरामी बढी रहेका एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष ०७५-७६ मा यस वडामा ३४ क्षयरोगका बिरामी भेटिएका नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख घिमिरेले बताए ।

औषधि पूरा नखाने, सरसफाइको कमी, खानपानको समस्या लगायतले गर्दा क्षयरोगका बिरामी बढेका उनले बताए । घरमै दिने सेवाले यस्ता रोगको कमी ल्याउन मद्दत पुग्ने विश्वास लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?