कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

रौतहट । कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मौलापुर नगरपालिका–८ सोनरनिया बस्ने अभय सिंह भन्ने ४० वर्षीय कामेश्वर सिंह पटेल कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट १ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोल १ थान, एसएलआरको गोली ४ राउण्ड र गोलीको खोका ३ थान समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

कुर्मी बारा जिल्ला हुँदै रौतहट जिल्लातर्फ प्रवेश गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले चन्द्रपुर नगरपालिका–४ स्थित धन्सारबाट जङगल सहिया जाने बाटोमा कुर्मीलाई फेला पारेको थियो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा कुर्मीले कटुवा पेस्तोल ताकी प्रहरीलाई लक्षित गरी फायर गर्न खोजे पश्चात प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा कुर्मी घाइते भएका थिए । घाइते कुर्मीको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?