सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधनं) विधेयक, २०७६’ पेश गरेका छन् ।

उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने जानकारी दिए ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ पेश गरे।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गर्नुभयो ।

शोक प्रस्ताव

बैठकले २०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली कांग्रेस गुल्मीका प्रथम जिल्ला सभापति समेत रहेका उनको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो ।

प्रतिनिधिसभाको आगामी बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?