काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।
फागुन २ र ३ गते भक्तपुरमा बसेकोे सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।
उनले संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ती जानएका हुन् ।
उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेकोसमेत बताए ।
संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उनले बताए । उनले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको बताए ।
त्यस्तै ट्रेड युनियनमा लाग्ने कर्मचारीहरुमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लाइएको भन्दै खण्डन समेत गरे । नेपाल निजामती कर्मचारी संगठनले व्यक्तिगत स्वार्थको आधारमा नभई सामुहिक स्वार्थको लागि मात्र आवाज उठाउने निर्णय बैठकले गरेको समेत उनले बताए ।
उनले भ्रष्टाचार गर्ने तथा गलत गर्ने कर्मचारीलाई कारबाही गर्न संगठनले सधैं सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया