अमेरिका जानको लागि बैंक ब्यालेन्स गर्न लगाएर ६० लाख ठगी, दुईजना पक्राउ

काठमाडौं । अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनु पर्ने भनी विभिन्न प्रलोभनमा पारेर एक महिलालाई ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल तार्केश्वर नगरपालिका २ बस्ने सानुमाया लामालाई अमेरिका जान भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ नगरपालिका वडा नम्बर २ पयुपाटा कुँवर टोलका रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौरे देउराली गाउँपालिकाका गणेश लामालाई पक्राउ गरेको महानगरीय अपराध महासाखा टेकुका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उनीहरुले बैंक ब्यालेन्स देखाउनु पर्ने भनी विभिन्न प्रलोभनमा पारी प्राईम बैंकका खाताबाहक रामचन्द्र कुँवरको खातामा ६० लाख रुपैयाँ राख्न लगाएका थिए । रकम राखेको भोली पल्ट प्राईम बैंकको शाखा चावहिल, नयाँबानेश्‍वर, कोटेश्‍वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकाली ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

उक्त रकम बैंक खाताबाट झिकेर सम्पर्कविहीन भएको जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई भक्तपुर ठिमी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले अन्य ३ जना बाट यसैगरी ७० लाख रुपैयाँ  लिइ ठगी गरेको खुल्न आएको सिंहले जनाकारी दिए ।

उक्त प्रकृतिका घटना दोहोरीन थालेकाले सबैलाई सजग हुन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?