विद्यार्थीबाट कुनै बहानामा शुल्क नलिने ‘नमूना’ विद्यालय

दाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास (सीड)ले राम्रा सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा घोषणा गरेर सहयोग गर्दै आएको छ ।

अहिले उक्त विद्यालय नमूना रहेको भन्दै सीडले सहयोग गर्दै आगामी दिनमा थप सुधारका लागि योजना निर्माण गरिरहेको कार्यक्रम संयोजक माधबराज चौधरीले बताए । सोही विद्यालयमा खानेपानी अभाव भएकाले बाहिरबाट ल्याएर भएपनि फिल्टरको पानी खुवाउने गरिएको छ । पानीकै कारण विद्यार्थीलाई धेरै रोग लाग्नसक्ने भएकाले फिल्टर गरिएको पानी खुवाउन थालिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए ।

त्यस्तै विद्यालय नजिकै भित्तामा टाँसिएको बालबालिका संरक्षणसम्बन्धी विद्यालयको नीतिले विद्यार्थी तथा शिक्षक मात्रै नभई बाहिरबाट जाने विभिन्न सरोकारवाला व्यक्तिको पनि ध्यान केन्द्रित गर्ने गर्छ । शिशु कक्षादेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा कक्षा कोठामा विद्यार्थीलाई बेञ्चमा बसालिएको हुँदैन । पठनपाठनमा सहज होस् भनी विद्यार्थीलाई ‘राउन्ड टेबुल’ मा राखेर पठनपाठन गराउने गरिएको छ । त्यसले शिक्षकलाई पढाउन पनि सहज भएको प्रअ देवकोटोले बताए ।

कति रोल नम्बरको विद्यार्थी आएन भन्ने गरी तालिका तयार पारिने गरेको उनले बताए । योसँगै शिक्षक, विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगले प्रत्येक वर्ष विद्यालयले नतिजा पनि सुधार गर्ने गरेको छ । विद्यालयले सबै कक्षामा प्रत्येक वर्षको कक्षागत, तहगत र विषयगत सिकाइ उपलब्धि टाँस गरेको छ । सोही सिकाइ उपलब्धिको आधारमा प्रत्येक वर्ष उपलब्धि वृद्धि गर्ने कसरतमा विद्यालय हुने गरेको प्रअ देवकोटाले बताए ।

अहिले विद्यालयमा तीन वटा भवन रहेका छन्, तर ती भवन अपर्याप्त भएकाले अन्य भवन पनि आवश्यक पर्ने प्रअ देवकोटाको भनाइ छ । उनका अनुसार विद्यालयको सिकाइ उपलब्धि पनि करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ । “यसअघि ८३ जना विद्यार्थी थिए” उनले भने “अहिले बढेर १०३ जना विद्यार्थी रहेका छन् ।” अहिले सबैभन्दा धेरै हाजिर हुने आमालाई सम्मानसमेत गर्ने गरेको देवकोटाले बताए ।

अहिले कुनै पनि बहानामा विद्यार्थीबाट शुल्कसमेत नलिने गरेको उनको भनाइ छ । साथै विद्यार्थीको क्षमता विकासका लागि क्लब गठन, नियमित सामाजिक लेखापरीक्षण, समयमै एसआईपी, गुनासो तथा सुझाव समिति गठन, शैक्षिक पात्रोअनुसार पठन–पाठन, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको उनको भनाइ थियो ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?