महराविरुद्धको फैसला आज

काठमाडौं – संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको निर्णय आज हुने भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार बहस सकिए पनि फैसला लेख्न समय अभावको कारण देखाउँदै आज सोमबारका लागि सारिएको थियो। हिजो आईतबार सुनुवाई सक्न समय अभाव भएपछि हेर्दाहेर्दैमा राखेर आज फैसला हुने बुझिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलाशमा बहस भएको थियो।

आइतबार बिहानैदेखि महरामाथि लागेको अभियोगमाथि वकिलले बहस गरेका थिए। सरकारी पक्षका वकिलको बहस सकिएपछि महरा पक्षका वकिलले बहस गरेका थिए। महरा पक्षका वकिलको बहस सकिए लगत्तै सरकारी वकिलले जवाफ दिएका थिए।
महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बरालका साथै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गर्दै आएका छन् ।

यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

पछि उच्च अदालतले जिल्ला अदालतले थुनामा राख्नेगरी भएको आदेशलाई सदर गरेको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?