मुख्यमन्त्रीमा क-कसको चर्चा ?

काठमाडौँ, १५ माघ- एमाले र माओवादीबीच प्रदेश नेतृत्वको भागबन्डा टुंगिए पनि नाम भने पार्टीले टुंग्याउन बाँकी छ । एमालेले मुख्यमन्त्रीको नाम सम्बन्धित प्रदेश कमिटीलाई नै छनोट गर्ने जिम्मा दिने तयारी गरेको छ । तर, माओवादीले भने सोही नीति अपनाउने देखिएको छ । आकांक्षी धेरै देखिएकाले दुवै पार्टीमा केन्द्रको नेतृत्वले हस्तक्षेप गर्ने सम्भावना उत्तिकै छ प्रदेश १ मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यसहित तीन जनाले आकांक्षा देखाएका छन् । प्रदेश २ मा मधेसवादी दलको नेतृत्वमा सरकार गठन हुने निश्चित छ । प्रदेश ३ मा भने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । प्रदेश मुख्यमन्त्री बन्नकै लागि केन्द्रीय संसद्का लागि चुनाव नलडेको भन्दै पाण्डेले दाबी प्रस्तुत गरिरहेका छन् । गुट परिवर्तन गरेरै भए पनि उनी मुख्यमन्त्री बन्ने दाउमा छन् । समावेशिता तथा पार्टीमा लामो योगदान दिएको आधारमा मुख्यमन्त्रीमा अष्टलक्ष्मीको दाबेदारी पनि कमजोर छैन प्रदेश ४ मा पार्टीसचिव पृथ्वीसुब्बा गुरुङ र सदस्य किरण गुरुङबीच प्रतिस्पर्धा छ । प्रदेश ५ मा सचिव शंकर पोखरेल निर्विरोधजस्तै देखिएका छन् । उनलाई प्रदेश संसदीय दलको नेतासमेत घोषणा गरिसकेको छ प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् । प्रदेश ७ मा माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहराले लबिङ गरिरहेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?