प्रदेशमा ७०/३० को भागबन्डा

काठमाडौँ, १५ माघ- वाम गठबन्धनले आफ्नो बहुमत पुग्ने ६ वटा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको पदीय भागबन्डा टुंग्याएको छ । एमालेले ४ मुख्यमन्त्री, ४ सभामुख र २ उपसभामुख लिने भएको छ भने माओवादीले २ मुख्यमन्त्री, २ सभामुख र ४ उपसभामुख पाउने भएको छ पद बाँडफाँट टुंग्याउन बनेको कार्यदलले आइतबार यस्तो सहमति जुटाएको हो । यो सहमतिलाई वाम एकता संयोजन समितिको बैठकले अनुमोदन गर्ने कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए सहमतिअनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादीका मुख्यमन्त्री हुनेछन् । एमालेले प्रदेश १, ३, ६ र ७ को सभामुख लिनेछ भने माओवादीले प्रदेश ४ र ५ मा सभामुख पाउनेछ । उपसभामुखमा भने एमालेले प्रदेश ४ र ५ मात्र पाउनेछ । अन्य चारवटा प्रदेशमा माओवादीका उपसभामुख हुनेछन् । एमालेको मात्र एकल बहुमत पुग्ने प्रदेश १ र ३ का मुख्य पद मुख्यमन्त्री र सभामुख दुवै एमालेले लिएको छ । अन्य ४ वटा प्रदेशमा मुख्यमन्त्री र सभामुख भागबन्डा गरिएको छ । ‘प्रदेशको चुनाव र स्थानीय तहको मतसमेतलाई ध्यान दिएर हामीले पद मिलाएका छौं,’ कार्यदलका संयोजक नेम्बाङले भने प्रदेशमा मन्त्रीहरूको संख्या ७ देखि ११ जनासम्म राख्ने पनि सहमति जुटेको छ । संविधानमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन सकिने प्रावधान भए पनि सानो मन्त्रिपरिषद् उपयुक्त हुने ठहर गर्दै गठबन्धनले संख्या निर्धारण गरेको हो । अब धेरै सांसद भएका १ र ३ नम्बरजस्ता ठूला प्रदेशमा ११ जनासम्म मन्त्री हुन सक्छन् । प्रदेश ६ र ७ जस्ता थोरै सांसद भएका प्रदेशमा सकेसम्म न्यूनतम संख्यामै मन्त्री राख्ने समझदारी छ । समग्रमा प्रादेशिक मन्त्रीहरूको संख्यामध्ये ७० प्रतिशत एमाले र ३० प्रतिशत माओवादीका हुने सहमति छ । प्रादेशिक मन्त्रीहरूको कार्यविभाजन र संसदीय समितिको नेतृत्व भने सम्बन्धित प्रदेशसभाको संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको सहमतिमा टुंग्याउने कार्यदलमा समझदारी बनेको छ । कार्यदलका नेताहरूले सहमति गर्नुअघि पटक–पटक एमाले र माओवादी दुवै दलका अध्यक्षहरूसँग कुराकानी गरेका थिए, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?