जहाँ मानिसलाई मर्न प्रतिबन्ध छ…

काठमाडौं । जन्म र मृत्यु प्राकृतिक कुरा हो । मृत्यु कसैको वशमा रहँदैन । नर्वेको एउटा शहरमा मानिसको मरणमाथि प्रतिबन्ध लगाइएको छ । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्दछ । किन छ त उक्त शहरमा मर्नलाई प्रतिबन्ध ? आउनुहोस् जानिराखौँ यो अनौठो नियमको बारेमा ।

लगभग दुई हजार जनसंख्या रहेको उक्त शहरमा सधैं हिउँ जमेको हुन्छ । त्यहाँका बासिन्दा कि त पर्यटक छन्, कि वैज्ञानिक ।

शहरको चारैतर्फ हिउँ नै हिउँ छ । यातायातका लागि केवल स्नो स्कुटरको मात्र प्रयोग गर्न सकिन्छ । वर्षको चार महिना त त्यहाँ सूर्य उदाउँदैन र २४ सै घण्टा अन्धकार रहन्छ ।

शहरमा एउटा निकै सानो चिहानस्थल रहेको छ, जहाँ पछिल्लो ७० वर्षदेखि कुनैपनि शव गाडिएको छैन । निकै चिसो र हिउँ नै हिउँ हुनाले गाडेका शव पनि कुहिँदैनन् र जस्ताको त्यस्तै रहन्छन् ।

त्यहाँ शव गाडिँदैन पनि । केही वर्ष पहिले वैज्ञानिकहरुले त्यहाँका चिहानबाट निकालिएको एक शवको नमूनाको परीक्षण गर्दा त्यसमा अझैपनि इन्फ्लुएन्जा भाइरस रहेको पत्ता लगाएका थिए ।

मरेको धेरै वर्षपछिको शवमा समेत भाइरस पाइएपछि उक्त शहरमा मृत्यु विरोधी नीति लागू गरिएको हो र मानिसहरुलाई त्यहाँ मर्न र अन्त्येष्टि गर्न प्रतिबन्ध लगाइएको छ ।

यदि उक्त शहरको कुनैपनि बासिन्दा गम्भीर बिरामी भयो र मृत्युको नजिक पुग्यो भने उसलाई मर्नुअघि नै जहाज वा पानीजहाजमा हालेर नर्वेका अन्य ठाउँमा पुर्‍याइन्छ ।

एजेन्सीको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?