चीनको वुहानबाट नेपाली ल्याउन उड्यो विमान, यसरी ल्याईनेछ भोली बिहानै

काठमाडौं । कोरोना भाइरस  (कोभिड–१९) को संक्रमणको इपिसेन्टर मानिएको चीनको हुवेई प्रान्तबाट नेपालीहरुलाई देश ल्याउन नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहान २ : १५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।

हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । चीनबाट १८७ जना नेपालीहरुलाई ल्याउने तयारी भएको हो । २७४ यात्रु बोक्न सक्ने उक्त विमानमा नेपाली सेनाका विशेष तालिमप्राप्त चार चिकित्सक पनि रहनेछन् । चालक दलका सदस्यमा तीन क्याप्टेन,छ क्याबिन क्रू, एक इन्जिनियर र एक लोडमास्टर गरी ११ जना रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेर उनीहरू सबैलाई पठाउन लागेको निगमले जनाएको छ । चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन् भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइनेछ ।

वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन् । नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् ।

रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् ।

त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक टोलीलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने योजना छ ।

चीनतर्फको तयारी

नेपालीहरूलाई विश्वविद्यालयबाट विमानस्थलसम्म ल्याउँन बेइजिङस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेको छ । उनीहरूलाई विश्वविद्यालयबाट सङ्क्रमण नहुने खालको मास्क र ज्याकेटआदि पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिनेछ ।

विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा सङ्क्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले स्वदेश फर्किन चाहनेहरूलाई बुधवार नै एउटा सर्तनामा भराएको छ भने बिहीवार उनीहरूलाई यात्राको विवरण पठाएको छ।

दूतावासले विद्यार्थीहरूलाई अत्यावश्यक सामग्री मात्र बोकेर आउन सूचित गरेको छ । उनीहरूले २० किलो लगेज र पाँच किलोसम्म ह्यान्डक्यारी बोक्न पाउनेछन् । वुहानस्थित विमानस्थलमा आइपुगेपछि उनीहरूको शरीरको तापक्रम नापेर मात्र विमानमा बस्न दिइनेछ ।

त्यसपछि विमानमा पनि उनीहरूलाई चिकित्सा टोलीले निरन्तर निगरानी गर्नेछ । विमानमा चालकदलका सदस्यले पनि सुरक्षात्मक ज्याकेट र मास्क लगाएर उडान गर्नेछन् ।

विमानस्थलमा आइपुगेपछि चिकित्सक, चालक दलका सदस्यहरू र हुबेबाट फर्केका सबै जनाले विमानस्थलमा स्थापना गरिएको स्वास्थ्य निगरानी कक्षमा गएर पुनस् तापक्रम मापन प्रक्रिया पूरा गरे पछिमात्र उनिहरुलाई विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा लगिने छ । चीनबाट उद्दार गरेर राखिने नेपालीका लागि क्वारेनटाइन निर्माण पुरा भएको छ । खरीपाटी स्थित बेड तयारी भइसकेको छ । चीनबाट उद्दार गरेर ल्याइएकालाई कसरी त्यहाँ पुर्याउने भनेर अभ्याससमेत गरिएको छ ।

 

चीनस्थित नेपाली दूतावासले नेपाल ल्याउन लागिएका नेपाली नागरिकलाई ६ बुँदे शर्तनामा फाराम भर्न लगाएको छ । दूतावासले क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको ६ बुँदे शर्तनामा भर्न लगाएको हो ।

इभ्याक्युसनपश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियामा १४ देखि १७ दिन वा सोभन्दा बढी राखिनेछ लगायतका विभिन्न बुँदाहरु राखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा उक्त शर्तनामा भर्न लगाइएको हो ।

यस्तो छ शर्तनामा
हुबेइ प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरीकले पालना गर्नु पर्ने बुँदाहरु : 
१.  इभ्याक्युसनपश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियामा १४ देखि १७ दिन वा सोभन्दा बढी राखिनेछ ।

२.  क्वारेन्टाइनमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, इन्फेक्सन रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ ।

३.  क्वारेन्टाइनमा रहँदा आफ्न्तहरुसँग भेटघाट गर्न दिइने छैन ।

४.  क्वारेन्टाइनमा लगभग ६० कोठाहरुमा उचित दुरीको फरकमा सामूहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ ।

५.  क्वारेन्टाइनमा रहँदा तपाईंहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ ।

६.  क्वारेन्टाइनमा रहँदा तपाईंहरुलाई त्यहाँ दिइएको रहेक नियम  (रुम, रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु) पालना गर्नुपर्ने छ ।

हुबेइ प्रान्तबाट स्वदेश फिर्ता  नेपाली नागरिकहरुले गर्ने शर्तनामा 

म नेपाली नागरीक हुँ । चीनको हुबेइ प्रन्तबाट स्वेदश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने माथि उल्लिखित सबै बुँदाहरु मैले पढेको छु। म उक्त सबै बुँदाहरु पूर्ण रुपमा पालना गर्न सहमत छु, पालना नगरेमा कानुन बमोजिन सहुँला,बुझाउँला ।
नाम :
हस्ताक्षर :
राहदानी नं :
मिति :

के हो कोरोना भाइरस ?
जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ  : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु९याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

यो पनि पढ्नुहोस् स् कोरोना भाइरसका कारण ज्यान गुमाएकाको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

कहाँबाट, कसरी फैलियो महामारी ?
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।

भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

यो पनि पढ्नुहोस् स् सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ? 
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात  ?
खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?