पृथ्वी नजिकैबाट जाँदैछ एउटा विशाल ग्रह, के छ खतरा ?

एजेन्सी – एउटा विशाल क्षुद्रग्रह(एस्टेरोइट) आज नेपाली समय अनुसार अपरान्ह ४ः५० बजे पृथ्वीको सबैभन्दा नजिक हुदैं जानेछ । १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पु¥याउने छैन ।
आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन् ।

नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट स्टडिज’का अनुसार क्षुद्रग्रह (एस्टेरोइट) बाट पृथ्वीलाई खतरा पुग्ने छैन ।
क्षुद्रग्रह (एस्टेरोइट) पृथ्वीबाट झण्डै ५७ लाख ७७ किमी टाढा हुदैं जानेछ । नासाका अनुसार यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीभन्दा १५ गुणा बढी हो ।
२००२ पीजेड ३९ नाम दिइएको उक्त क्षुद्रग्रह अगस्ट २००२ मा पत्ता लागेदेखि वैज्ञानिकहरुको निगरानीमा रहेको छ ।
माइनर प्लानेट सेन्टरले २००२ पीजेड ३९ लाई पृथ्वीका लागि ‘सम्भावित खतरानाक क्षुद्रग्रह’ को सूचीमा राखेको छ । पृथ्वीबाट ७४ लाख किमीको दुरीमा पर्ने ४९२ फिटभन्दा ठूला आकारलाई सम्पूर्ण आकासीय पिण्डलाई ‘सम्भावित खतरा’को सूचिमा राख्ने प्रचलन छ ।
आइतबार र सोमबार केही थप क्षुद्रग्रहहरु पृथ्वीको नजिकबाट जाँदैछन् । घरदेखि हवाईजहाज आकारका ती आकाशीय पिण्डमध्ये सबैभन्दा नजिक भएर जाने क्षुद्रग्रह सोमबार पृथ्वीभन्दा २२ लाख ४२ हजार किमीको दुरीबाट जानेछन् ।
तीमध्ये कुनैबाट पनि पृथ्वीमा खतरा पुग्ने छैन ।
पृथ्वीको नजिक रहेको आकाशीय पिण्डको अध्ययनको अतिरिक्त नासा र अन्य एजेन्सीले अहिले पृथ्वीको नजिक रहेको क्षुद्रग्रहको अध्ययन गर्न थालेका छन् । यी अध्ययनको उदेश्य पृथ्वीतर्फ आउने आकाशीय पिण्डलाई आकाशमै नष्ट गर्नु हो । (एजेन्सीको सहयोगमा फाईल फोटो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?