च्यासललाई पराजित गर्दै थ्री स्टार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा थ्री स्टार क्लबले जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले समान एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो । खेलको ७० औं मिनेटमा लाल राम्मव्राले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए । जितसँगै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ ।

च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ । च्यासलले १३ खेलमा १५ अंक जोडेको छ । च्यासल आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?