विवाह गरेको तीन मिनेटमै डिभोर्स, यस्तो थियो कारण

काठमाडैं । विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाहलगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन् ।

कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्श्री-मतीको रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन् । यो विवाह कुवेतमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ ।

विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह तोडेकी थिइन् ।

कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् । लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेर बोलाएका थिए ।

‘क्यू एट न्यूज’ का अनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाएर जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग गरेकी थिइन् ।

जजले पनि उनको मागलाई सम्बोधन गरे । ती जोडीको विवाह दर्ता गराएका जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद गराए ।

उक्त समाचार भाइरल भएपछि अधिकांश मानिसहरूले बेहुलीको पक्ष लिएर उनले सही निर्णय लिएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?