गोल्छाको प्रधानलाई साथ, चन्द्र ढकाललाई धक्का

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका किशोर प्रधानलाई वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समर्थन गरेका छन् । प्रधानलाई गोल्छाको समर्थनपछि वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकाललाई धक्का लागेको छ । ढकालले पनि यसअघि नै उम्मेदारी घोषणा गरिसकेका छन् ।
गोल्छा दुई महिनापछि महासंघको स्वतः अध्यक्ष हुँदैछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

बिहीबार बिराटनगरमा प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी गोल्छाले अब आफू कसैको रबर स्ट्याम्प नबन्ने बताए ।
‘जब म नेतृत्व सम्हाल्दैछु, मेरो मनले भन्यो तिमी सबैको अध्यक्ष हुनुपुर्छ’ उनले चण्डीराज ढकालतर्फ लक्षित गर्दै भने, ‘तर जस्तो चितायो त्यस्तो नहुने रहेछ । हाम्रो पूर्वअध्यक्षले के भन्नुभयो भने शेखर एक्लैले के गर्छ ? सबै टिम मेरै आउने हो । उ मेरो लाइनमा हिँडेन भने ६ महिनामा पदमुक्त गरिदिन्छु ।’

उनले अघि भने, ‘अनि म नेतृत्वमा आएर रबर स्ट्याम्प बन्ने ? मैले काम गर्न सबल र बलियो टिम चाहियो, जसले महासंघको गिरेको शाख फिर्ता ल्याओस् ।’

प्रधान समूहलाई साथ दिनुको कारणतर्फ संकेत गर्दै उनले महासंघका काम गर्न टिम चाहिने बताए । गोल्छाले आफू अध्यक्ष भएको ६ देखि ९ महिनाभित्र विधान संशोधन गरेर सबैले चाहेको जस्तो बनाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?