१ फाल्गुन २०७६, बिहीबार १२:३०

गोरी बनाउने भन्दै क्रिमको विज्ञापन गरे ५० लाख जरिवाना, ५ वर्षसम्मको जेल सजाय !


प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १२:३०

कालो छाला भएका युवतीहरु गुनासो गर्छन् । आफू नराम्री भएको, कसैले भाउ नदिएको, कालो छालाकै कारण विवाह नभएको यस्तै यस्तै । त्यही वेला गोरो छाला भएकी युवती उनीहरुको जीवनमा ‘मसिहा’ बनेर आउँछिन् । कुनै ब्राण्डको क्रिम लगाउन सुझाउँछिन् । क्रिम प्रयोग गरेको केही दिनमै परिवर्तन हुन्छ उनीहरुको छाला र जीवन ।

अधिकांश फेयरनेस क्रिमका विज्ञापनको ‘स्टोरीलाइन’ यही सेरोफेरोमा घुमेको हुन्छ । यसले दुईवटा जटिल विषयलाई उचालेको छ :

कालो छाला हुने मान्छे कुरुप हुन्छन्

क्रिमको प्रयोगले कथित सुन्दरता दिलाउँछ

प्राय चर्चित नायिका तथा मोडललाई खेलाइने यस किसिमका विज्ञापनले सुन्दरताका परिमितिहरु छुट्याइदिएको छ । विशेषतः महिलाको हकमा । यस्ता विज्ञापनले कोरिदिएको सुन्दरताको परिधिभित्र अटाउन नचाहनेहरुले वर्षौंदेखि यस कुराको विरोध गरिरहेका छन् । यो विश्वव्यापी मुद्दा हो ।

तर, केही दिनअघि भारतले यही विषयमा एउटा साहसी कदम चालेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले ड्रग्स र जादुइ उपचार (आपत्तिजनक विज्ञापन) ऐन संशोधन गर्न प्रस्ताव गरेको छ । जस अन्तर्गत फेयरनेस क्रिमको विज्ञापनमा खेल्ने वा त्यसको प्रचार गर्ने जोसुकैलाई ५० लाख जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुने उल्लेख गरिएको छ । हो, छालाको रंग, उचाइ, मोटाइ, कपालको रंग आदिजस्ता विषयसँग सम्बन्धित विज्ञापनमा देखिने वा त्यस किसिमका उत्पादनलाई प्रोत्साहन गर्नेलाई यस्तो कडा सजाय हुनुपर्छ भन्ने माग मन्त्रालयले राखेको हो ।

यो प्रस्ताव अहिले जति अर्थपूर्ण लागेको छ केही वर्षअघिसम्म शायद यसको ओज मेरो मस्तिष्कले मापन गर्न सक्दैन थियो होला ।

खासमा म संक्रमणकालीन युगमा जन्मिएँ ट्रेडिसन र टेक्नोलोजीको । अर्थात् परम्परा र प्रविधिको ।

एक दशक अगाडि अहिले जस्तो हातहातमा मोबाइल र इन्टरनेटको सुविधा नभए पनि हामीसँग बसिबियाँलोका लागि प्रविधिको अर्को सुन्दर उपहार थियो – टेलिभिजन ।

संयुक्त परिवारमा हुर्किएँ । बुबाआमाको हातमा रिमोट हुने । त्यसैले धेरैजसो रामायण र महाभारतको श्रंखला हेरेरै बाल्यकाल बित्यो ।

मेरो कलिलो दिमागले अर्थ र तात्पर्य केलाउन नसकेपनि यति चाहिँ राम्ररी बुझेको थियो कि, रामायणकी नायिका सीता अनि महाभारतकी द्रौपदी । यी दुवै धारावाहिकका श्रंखलामा मैले आफ्नो सपनाको राजकुमार देख्थेँ ।

रामले संसारकै सबैभन्दा शक्तिशाली धनुष भाँचेर आफ्नो सीतालाई पुरस्कारस्वरप जितेको र अर्जुनले घुमिरहेको माछाको आँखामै तीर प्रहार गरेर आफ्नी नायिका द्रौपदीलाई पाएको देख्दा मनै फुरुङ्ग हुन्थ्यो ।

बिहानै आमा पूजा गर्दै गर्दा म पनि सुटुक्क गएर भगवानका अगाडि हात जोड्दै मनमनै भन्थेँ, ‘हे शिवजी भगवान मेरो राजकुमारले यसरी नै जितेर लगोस् है ।’ त्यतिबेला एउटा शक्तिशाली राजकुमारको चित्र सम्झिरहन्थ्यो मेरो अबोध मनले ।

बिस्तारै टिभीमा हिन्दी च्यानलहरू पनि प्रसारण हुन थाले । हिन्दी चलचित्रमा हिरोले हिरोइनलाई पछ्याएको, आफ्नो प्रेमप्रस्ताव स्वीकारोस् भनेर अनेक तरिकाले फकाएको देख्दा मेरो मनले फेरि अर्को सपना सजाउन थाल्यो ।

साथीहरूले यी तेरो ‘गुड लक’ भन्दै गालामा टाँसिएको परेला हातमा राखिदिँदा ‘शाहरूख जस्तै ब्वाइफ्रेन्ड पाइयोस्’ भन्दै मनमनै पुलकित हुन्थें ।
यसरी झिना आशाका त्यान्द्राहरू जोडेर बनाएको मेरो ‘फेयरी टेल’ क्रमश समयसँगै भत्किँदै गयो । भनौं, मैले आफैं भत्काइदिएँ । जब मैले नेपाली समाजमा नारीको अस्तित्व महसुस गरेँ । मेरो अस्तित्व महसुस गरेँ ।

एकाएक सीता र द्रौपदीप्रति मेरो मनमा दया जाग्यो । सबै चलचित्रका हिरोइनहरू ‘बिचरा’ लाग्न थाले । सत्य तीतो हुन्छ भन्थे, हो रहेछ ।

किनकी सीता र द्रौपदी अनविज्ञ छन् आफ्नो अस्तित्वदेखि । अन्जान छन् यो वास्तविकतादेखि कि, उनीहरू जसलाई आफ्नो हिरो सम्झिरहेका छन्, उसका लागि त ऊ केवल ‘पुरस्कार’ मात्र हो । आफ्नो क्षमता प्रदर्शन गरेवापत् पाएको बक्सिस । अनि आफ्नो जितको प्रमाण ।

त्यस्तै, हिरोले हिरोइनलाई फकाउनु केही हदसम्म रोमान्टिक लागे पनि हिरोइनको इच्छा नबुझी उसलाई जबरजस्ती आफ्नो बनाउन खोज्नुले यही संकेत गर्छ कि, हिरोइन फगत् एक ‘वस्तु’ हो ।

यी सबै दृश्यलाई मनन गर्दा परापूर्वकालदेखि नै महिलालाई वस्तुको संज्ञा दिइन्थ्यो भन्ने पुष्टि हुन्छ । अहिले पनि दिइन्छ । मात्र सन्दर्भ र तरिका फरक हो ।

यसरी कोही व्यक्तिलाई वस्तुको दर्जामा राख्नुलाई अङ्ग्रेजीमा भनिन्छ ‘अब्जेक्टिफिकेसन’ । त्यस्तै लिङ्गका आधारमा कसैलाई वस्तु वा सो सरह मान्नुलाई ‘सेक्स अब्जेक्टिफिकेसन’ भनिन्छ ।

यो अवधारणा लैंगिक विभेद भन्दा केही भिन्न छ । किनकी यसमा महिलालाई पुरुषले मात्र नभएर महिला आफैले पनि ‘अब्जेक्टिफाइ’ गरिरहेका हुन्छन् ।
पूर्वीय संस्कृति पितृसत्तात्मक हुने भएकाले नारी सम्मान, हकअधिकार, अस्तित्व कुनै नौला विषय होइनन् हाम्रा लागि । तर उदारवादी मानिने पाश्चात्य संस्कृतिमा यो अवधारणा बढी व्याप्त रहेको अनुसन्धानका रिर्पोटहरूले देखाउँछन् ।

सिद्धान्त

बारबरा फ्रेडिक्सन र टमी एन् रोबर्टस्ले प्रतिपादन गरेको ‘अब्जेक्टिफिकेसन सिद्धान्त’ अनुसार ‘सेक्स अब्जेक्टिफिकेसन’ का कारण महिलाहरू आफूलाई अरुको आँखाबाट हेर्छन् ।

अरुले आफ्नो शरीरप्रति बनाएको विचारधारालाई आधार मानेर त्यसै अनुसार आफूप्रति दृष्टिकोण बनाउँछन् । यसले उनीहरूमा डिप्रेसन, आफ्नै शरीरप्रति घृणाको भावना, कमजोर मानसिक स्थिति जस्ता नकारात्मक असर पु-याइरहेको हुन्छ ।

सुन्दर देखिने होडबाजी

३०–२४–३२ (साइज जिरो), अग्लो पातलो शरीर, गोरो छाला, मिलेका अंग अवयव अर्थात् महिलाको सुन्दरता मापन गर्ने सूचाङ्क । यही परिमितिको आधारमा कति सजिलै हामी भन्छौं ‘छि यो त कति नराम्री’ ‘आहा यो त कति राम्री’ ।

यस परिधिमा आफ्नो शरीरलाई अटाइ–नअटाइ फिट गर्ने बहानामा कति युवतीहरू शारीरिक एवम् मानसिक रोगको शिकार भइरहेका छन् ।

पातलो र आकर्षक देखिने होडबाजीमा कैयौं दिन खाना नखाएर उरुग्वेकी २२ वर्षीय मोडल लुजेल रामोसले आफ्नो ज्यान गुमाएको खबर पनि हाम्रा लागि नौलो होइन ।
चलचित्रका नायिका तथा -याम्प मोडलहरूको हातैले बनाएजस्तो शरीर र रुपको मोहमा हरेक रात भोकभोकै सुत्ने केटी मान्छेको जमात बढेको छ हाम्रो समाजमा ।

वास्तविक अनुहारलाई मेकअपको बाक्लो पर्दाले छोपेर नमिलेका नाक, आँखाहरू कुनै चित्रकारले चित्र कोरेझैं मिलाइन्छन् ।

उता संसारभरिका सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनीले भने वर्षौं नै अर्बौं आम्दानी गरिरहेका हुन्छन् । सुन्दरतालाई गलत रुपमा परिभाषित गरेर । हामीलाई भ्रममा राखेर ।

शरीरको विज्ञापन

महिलाको शरीरलाई आकर्षणको केन्द्रबिन्दुका रुपमा दुरुपयोग गर्ने अर्को उद्योग हो, विज्ञापन । आजकालका विज्ञापनहरू परिवारसँग बसेर समेत हेर्न नमिल्ने खालको हुन्छन् ।

विशेषतः रक्सी, पर्फ्युम, साबुन, शेभिङ मेसिन आदिका विज्ञापनहरूमा महिलालाई अनावश्यक रुपमा उत्तेजक ढङ्गले प्रस्तुत गरिएको हुन्छ ।

कुनै विज्ञापनमा छोटो कपडा, भद्दा मेकअपमा रंगिएका केटीहरू पर्फ्युमको बासनामा लठ्ठिएर एउटा केटाको पछि लागिरहेका हुन्छन् । कुनैमा बिकिनी लगाएका केटीहरूलाई उच्छृङखल तरिकाले नचाएर रक्सीको विज्ञापन गरिन्छ ।

त्यतिमात्रै कहाँ हो र रु पुरुषले सेभिङ गर्ने मेसिनको विज्ञापनले नङ्ग्याउँछ युवतीहरूलाई । युवतीका नछोपिएका अंगहरू दर्शक तथा पाठकको ध्यान खिच्नका लागि किन प्रयोग गरिन्छ रु
टिभी स्क्रीनमा मात्र नभएर प्रत्यक्ष रुपमा बिकिनी लगाएका केटीहरूद्वारा गाडी सफा गर्ने ग्यारेज, खाना सर्भ गर्ने होटेलहरू पनि प्रशस्तै खुलेका छन् । कतै केटीको ‘फिगरबाट’ खाना झिकेर खान पाइने आश्चर्य देखाइन्छ त कतै केटीको वक्षस्थलबाट झरेको पानी खाने सुविधा मिलाइएको मूर्ति ।

व्यापार बढाउनलाई शरीरको प्रचारबाजी सबैभन्दा सजिलो र भरपर्दो माध्यम बनेको छ विज्ञापन क्षेत्रलाई । यद्यपी यस्ता विज्ञापनमा केटाको शरीरलाई भने कमै प्रयोग गरेको देखिन्छ ।

यस्तो प्रवृत्तिले उपभोक्तालाई समेत च्यालेन्ज गरेको छ । उपभोक्ताले उत्पादनको गुणस्तर हेरेर सामान किन्ने कि उच्छृङ्खल विज्ञापन रु

आइटम गर्लको ट्रेन्ड

‘ओइ तेरो आइटम त बम छे’ ‘हेलो आइटम, रेट कति हो रु’ केटी जिस्काउादा प्रयोग गरिने यस्ता वाक्यहरु हाम्रा लागि सामान्य भइसके । यस्ता भद्दा कमेन्टमा उल्लेख गरिएको ‘आइटम’ आकर्षक महिला को बिम्ब हो ।

शायद त्यही शब्दबाट रहन गयो आइटम गीतको नाम ।

त्यसैले, आइटम गीतको सबैभन्दा महत्वपूर्ण तत्त्व, सिधा हिसाबमा आइटम अर्थात् ‘सेक्सी फिगरवाली’ । गीतको नाम आइटम राखियो । यस अर्थले केटीलाई वस्तुका रुपमा मात्रै देखाइन्छ । दर्जनौं केटाहरूको झुण्डमा एक्लै केटी नचाएर ।
आजकल बजार तताउने गीत भनेकै आइटम गीत बनेका छन् । खास गरी नेपाल, भारत लगायतका एसियाली देशमा मनोरञ्जन क्षेत्रमा यसको व्यापक प्रयोग हुन थालेको छ ।

यी गीतलाई बिकाउको ‘हतियार’ बनाइन थालिएको छ । सिधा अर्थमा गीतमा कलात्मकता देखाउन खोजिए पनि घुमाउरो अर्थमा महिलालाई ‘वस्तु’ बनाइएको छ ।

फिल्ममा पनि मंहगो बजेट खर्च गरेर आइटम गीत तयार पारिन्छन् । पूरै फिल्मको लागत एउटै गीतले उठाइदिने भएकाले पनि निर्माण टोली आइटम गीत बनाउनलाई निकै समय र रकम खर्चिन्छन् । न अनुसन्धान, न मेहनत – एक दुईवटा उत्ताउला शब्द भरेर गीत लेख्यो अनि केटी नङ्ग्यायो ।

चलन यस्तै चलिआएको छ ।

आइटम गीतका शब्दहरू कोर्दा नै उच्छृङ्खल र क्याची हुनुपर्छ भनेर निर्देश गरिन्छ ।

अनि कथा वा शब्दले मागेको हौवा दिँदै मनलाग्दी उनको शरीरभरि पुरुषले हात फिजाउँछन् । फिजाउँदैनन् मात्र । सुम्सुम्याउँछन् र उनलाई अपील गर्छन् । मानौँ, ऊ घरमा किनेर ल्याएको कुनै वस्तु हो ।
त्यस्तै मिडियामा समाचार रिर्पोटिङ गर्ने ढंग होस् नहोस्, समाचारको आधारभूत तत्व बुझेको होस् या नहोस्, आवश्यक ज्ञान होस् या नहोस् तर युवती सुन्दर छिन्, शारीरिक बनावट आकर्षक छ, कोटभित्र ट्युब लगाउँदा हल्का क्लिभेज देखिन्छ भने उनी ठीक छिन् ।

यो कुरा तीतो लाग्छ तर यथार्थ फेरि पनि यही हो ।

कुरै गर्ने हो भने होटलमा, रिसेप्सनमा वा ग्यारेजमा युवतीलाई वस्तुकै रुपमा प्रस्तुत गराइन्छ ।

महिला शक्ति कि वस्तु ?

त्यसो त महिलालाई रामायणका पात्रदेखि विज्ञापन या होर्डिङ बोर्डमा शक्तिकै रुपमा देखाइन्छ ।

महिलालाई सशक्त पात्रका रुपमा अगाडि ल्याइएको भन्ने गरिन्छ । महिलाको स्तरोन्नति र स्वतन्त्रतासँग पनि दाँज्ने गरिन्छ ।

कतिपय विषयमा त महिला आफैले पनि वस्तुका रुपमा प्रस्तुत हुन चाहिरहेका हुन्छन् । केहीको बाध्यता पनि हुन्छ ।

तर, समाज भने यही बहसको आडमा टेकेर अझ महिलालाई ‘वस्तु’ बनाउन चाहन्छ ।

आधुनिकीकरणसँगै महिला आफै पनि यस विषयमा आवाज उठाउन थालेका छन् । तर, अब महिला स्वयंले यो बुझ्न जरुरी छ कि, महिलालाई शक्तिका नाममा ‘वस्तु’ बनाइएको छ कि छैन ?

Tags:

प्रतिक्रिया दिनुहोस