प्रतिनिधिसभाको शून्य समयः छाउगोठ, कोरोनादेखि प्रचण्डलाई कारवाही गरिनुपर्ने मागसम्म !

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

चीनबाट संक्रमण सुरु भएका कोरोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन् ।

यसैक्रममा बोल्दै  सांसद विद्या भट्टाराईले विश्वमा कोरोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङन मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन् । भ्रमण वर्ष २०२० लाई सफल पार्न र विश्वभरी नै नेपालमा कोरोनाको जोखिम छैन् भन्ने सन्देश दिन विमानस्थलमा हुने चेकजाँचर्लाइ कडाई गर्नुपर्ने उनले बताइन। चीनको वुहानमा रहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारले तयारी गरिरहेको र सबैले यो विषयमा सबैले सरकारलाई आग्रह समेत गरीन ।

सांसद विना कुमारी श्रेष्ठले नेपालको श्रम बजार औपचारिक भन्दा अनौपचारिक रुपम बृद्धि भएको तर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् । श्रम ऐन जारी भएको लामो समय भएपनि संगठित नरहेका श्रमिकहरुले राम्रो सेवा सुविधा पाउन नसकेको उनले बताइन । असंगठित क्षेत्रमा रहेको घरेलु श्रम नराम्रो सँग अगाडी बढीरहेको उल्लेख गर्दै उनले घरेलु श्रमलाई स्थानीय सरकार अन्तर्गत दर्ता गरी व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

त्यस्तै प्रतिनिधी सभाको शुन्य समयमा बोल्दै सांसद विनादेवि बुढाथोकीले सरकारले जनताको आधारभूत स्वास्थ्य अधिकार सुरक्षित गरेको भएपनि अझै देशका धेरे अस्पतालमा निःशुल्क भनेर तोकिएका औषधिहरु उपलब्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सांसद विन्दा पाण्डेले ललिता निवास प्रकरणमा मुद्दा विशेष अदालतमा गएको र अदालतबाट दोषि कोही नछुट्ने र निर्दोष कोही नफस्ने गरी निर्णय हुनेमा आफु ढुक्क रहेको बताइन । उनले यति होल्डिङ्सको बारेमा सरकारले गरेका निर्णयहरुको आलोचना भइरहेका बेला सरकारले स्वेतपत्र जारी गरी जानकारी गराउनुपर्ने माग समेत गरेकी छन् ।

सांसद विमला विश्वकर्माले काभ्रेका अजित मिजारको परिवारले ४ वर्ष सम्म पनि न्याय पाउन नसकेको बताएकी छन् । लास ४ वर्षदेखि टिचिङमा रहेको उल्लेख गर्दै उनले यो कुनै द्वन्दकालिन मुद्धा नभएर अन्तरजातिय विवाह गरेका कारण हत्या भएको र घटनाको विषयमा चित्तबुझ्दो अनुसन्धान गर्नुको साटो उल्टै १० लाख दिन खोजिएको आरोप समेत लगाएकी छिन् ।

सांसद विशाल भट्टराईले सर्वाधिक चासोको विषयका रुपमा रहेको ललिता निवास प्रकरणका दोषिहरुलाई कारवाहीको माग गरेका छन् । उनले देशभरीको सरकारी जग्गाका विषयमा छानबिन गर्न उच्चस्तरिय समिति बनाएर काम अगाडी बढाउन आग्रह गरे ।

सांसद विष्णु शर्माले छाउगोठ भत्काउने अभियान सरकारले सुरु गर्नु सराहनिय भएपनि गोठ भत्काउँदैमा कुरीति नहट्ने भएकाले जनचेतनामुलक अभियान सुरु गर्न आग्रह गरेका छन् ।

सांसद शशी श्रेष्ठले महिला माथि भएका कुसंस्कृति र कुसंस्कार विरुद्ध केही काम भएपछि राष्ट्रिय महिला आयोग जस्ता संवैधानिक आयोग गठन भएको साढे ४ वर्ष वित्दा पनि पदाधिकारी विहिन हुनु राम्रो नभएको बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग लगायत अन्य धेरे संवैधानिक निकायहरुले अझै पूर्णय पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै श्रेष्ठले सबै आयोगहरुमा पदाधिकारी नियुक्ति गरी सरकारी कामकारवाही प्रभावकारी बनाउन माग समेत गरेका छन् ।

त्यस्तै संसदको शुन्य समयमा बोल्दै सांसद शान्ता चौधरीले सिंहदरबार प्रवेश गर्न लामो समय कुरेर पास पाइने गरेको बताउँदै निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । आफ्नो राष्ट्रिय परिचय पत्र देखाएर दिनको २ घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गरी जनतालाई सिंहदरबार हाम्रो पनि हो भन्ने आभास दिलाउनुपर्ने बताइन ।

सांसद शेर बहादुर तामाङले सिन्धुपाल्चोकको जुगलमा कोरोना फैलियो भन्ने भ्रम सिर्जना फैलाइएको बताएका छन् । सिन्धुपाल्चोकमा फैलिएको प्रकोपका विषयमा सत्यतथ्य बाहिर ल्याउन सांसद तामाङले सरकारको ध्यानाकर्षण गराएका छन् । सिन्धुपाल्चोक लगायत नेपाल नै कारोना मुक्त भएको उल्लेख गर्दै तामाङले भ्रमपूर्ण समाचार लेख्ने कुरामा सजगता अपनाउन आग्रह गरे ।

त्यस्तै सांसद सरला कुमारी यादवले उपत्यकाको सवारी जामले उपत्यकावासीको दैनिकी नै प्रभावित गरेको बताएकी छिन् ।

साथै सांसद हिरा गुरुङले ‘सार्वजनिक रुपमा ५ हजार मान्छे मैले मारेको छु’ भन्ने व्यक्तिलाई अहिलेसम्म किन कारवाही नभएको भन्दै प्रश्न गरेकी छिन् । ठूलालाई चैन र सानालाई ऐन भन्ने कुन कानूनमा छ भन्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरिन । माघ १ गते नेकपा अध्यक्ष दाहालले टुंडिखेलमा भएको एक कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाएका ५ हजारको जिम्मा आफुले लिने तर बाँकी १२ हजारको जिम्मा सरकारले लिनुपर्ने भन्ने भनाइप्रति खेद प्रकट गरेकी छिन् । शुन्य समयमा बोल्दै सांसद गुरुङले त्यस्ता व्यक्तिलाई कानूनी कठघरामा उभाउन सरकार समक्ष माग समेत गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?