न्यु डाईमण्डलाई हराउँदै आर्मी तेस्रो स्थानमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबले १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएर आर्मी तेस्रो स्थान हात पारेको हो ।नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आर्मीले न्यु डाईमण्डलाई २५-२१, २५-१४ र २५-१४ को सेटमा पराजित गर्यो ।

जितसँगै आर्मीले लिगको १४ खेलमा ३० अंक जोड्यो । चौंथो भएको न्यु डाईमण्डले २२ अंक जोड्यो । लिगमा तेस्रो भएको आर्मीले १ लाख ५ हजार नगद प्राप्त गरेको छ । चौथौ भएको न्यु डाईमण्डले ७५ हजार प्राप्त गर्यो ।

प्रतियोगिताको उपाधि छिनोफानो भने लिगको अन्तिम खेलले तय गर्नेछ । लिगको अन्तिम खेलमा एपीएफ र नेपाल पुलिस क्लबबीच आजै खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै,उपविजेताले २ लाख ५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?