पुलिसलाई पाखा लगाउँदै मनाङ लिगको शीर्ष तीनमा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटो मंगलबार १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले समान एक एक गोल गरे । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को जित दिलाए ।

खेलमा मनाङका गोलकिपर दिप कार्की म्यान अफ दि म्याच चुनिए । पुलिसलाई हराएसँगै मनाङले शीर्ष दुई टोलीसँगको अंक दुरी समेत घटाएको छ । मनाङले १२ खेलमा २५ अंक जोडेको छ । मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ र दोस्रो स्थानको मछिन्द्र भन्दा एक अंकले पछि रहेको छ ।

पराजित पुलिस भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?