‘कर्णाली उत्सव’ फागुन १९ देखि

सुर्खेत । कर्णाली चिन्ने र चिनाउने उद्देश्यले यही फागुन १९ गतेदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ । आयोजक संस्था ऋति फाउन्डेशनले फागुन १९ देखि २१ गतेसम्म वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सञ्चालन गर्ने जनाएको छ ।

उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ । ‘मुख्य मान्ठ(मान्छे), मूल कुडा (कुरा)’ अन्तर्गत प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबीच अन्तरप्रदेश सम्बन्धका बारेमा बहस हुनेछ ।

फाउन्डेशनका संस्थापक सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुडा कर्णाली’का नामक कार्यक्रम सञ्चालन गरिने बताए । “सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध मजबुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो”, उनले भने, “कर्णाली बुझ्ने र बुझ्न चाहनेका लागि उत्सव सन्दर्भ सामग्रीजस्तै हुनेछ ।” उत्सवले प्रदेशको सामाजिक, राजनीतिक, आर्थिक विकास तथा कला साहित्य, भाषा–संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आयोजकका अनुसार साइकल -याली र देउडा खेलबाट कार्यक्रम उद्घाटन हुनेछ । पहिलो सत्र ‘कर्णालीका बेला’ शीर्षकमा ‘सरकारका तीन तह बगाउन्या कर्णालीका वह’ र ‘खसका खासखुस’ विषयमा विमर्श चलाइनेछ । दोस्रो दिन ‘कर्णाली कोट्याउ’ अन्तर्गत ‘कालापहाडका तोडा’ (धनको थैलो), ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दबाई देवता’, ‘भोक र भकारीमा’ शीर्षकमा बहस हुनेछ । उत्सवको तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ अन्तर्गत ‘कसरी बन्छ कर्णाली ?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘कर्णालीको ११औँ जिल्ला (राउटे)’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शीर्षकमा बहस हुनेछ ।

उत्सवमा कर्णाली प्रदेशभित्र र बाहिर विभिन्न क्षेत्रमा बहस गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?