च्यासलसँग पराजित हुँदै सरस्वती ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं । सरस्वती युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग २-१ गोल अन्तरले पराजित हुँदै सरस्वती ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो ।

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल बाँकी रहदै घटुवा भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासललाई जित दिलाउन जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच च्यासलका नाकामुरा चुनिए ।

खेलको १८ औं मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सरस्वतीका बुसारीले एक गोल फर्काए ।

च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अंक जोड्यो । अब लिगको अन्तिम खेल जितेपनि सरस्वतीले पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफलाई पछि बनाउन सक्ने छैनन् । एपीएफको ८ अंक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?