एकताविरुद्ध एमाले–माओवादी उचाल्ने प्रयास हुँदैछ : ‘प्रचण्ड’

काठमाडौं, १३ माघ – पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । हामीसँग एकताको कुनै बिकल्प छैन । तर, यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें । एउटा शक्तिले बाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई ईन्कार गरें, फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ । एकता हुन नदिन निकै ठूला प्रयास भए । तर, हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ, त्यसका लागि तपाईहरुजस्तो बौद्धिक समूहको सहयोग चाहिन्छ ।’‘कैयौं मान्छेले मलाई अस्थिर पनि भन्छन् । तिनै मान्छेहरु मलाई गतिशील पनि भन्छन् । म परिस्थिति नयाँ ठाउँमा पुगेपछि पुरानै ठाउँमा बस्दिनँ । परिस्थितिको मागअनुसार अघि बढ्छु’, प्रचण्डले भन्नुभयो, ‘परिस्थिति हेरेर निर्णय लिने मेरो विशेषता हो । तर, म कहिल्यै पनि रणनीतिक लक्ष्यका विरुद्ध जाने गरेको छैन । आफ्नो स्वाद पर्दा त्यही निर्णय गतिशील हुने र नपर्दा अस्थिर हुने बिचित्रको विश्लेषण पनि हामीकहाँ छ । तर, जनताको अभिमत र चाहनाविरुद्ध हामीले कुनै निर्णय गर्नु हुँदैन । विरोधीहरुका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ ।’‘शिक्षा समाजवादको आधारशिला खडा गर्ने निकै महत्वपूर्ण खुड्किलो हो । हिजो हामीकहाँ राजा महाराजा थिए । तर, अहिले हामीले नै चुनेका जनप्रतिनिधि छन्’, प्रचण्डले भन्नुभयो, ‘अहिले पनि हामीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा, विकासको पक्षमा काम गरेनौं भने कसलाई दोष दिने ? अब अरुलाई दोष दिएर उम्कने ठाउँ छैन । तपाई हामी सबै आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्नैपर्छ । शिक्षा क्षेत्र पनि त्यसबाट मुक्त छैन, तपाईहरु पनि त्यसका विरुद्ध लड्नुस् ।’‘अहिले हामी आमूल परिवर्तनको परिस्थितिमा छैनौं । शिक्षामा गुणात्मक सुधार नै अबको हाम्रो बिकल्प हो’, प्रचण्डले भन्नुभयो, ‘शिक्षामा नीजि क्षेत्रको भूमिकालाई क्रमशः घटाउने र सार्वजनिक क्षेत्रको भूमिकालाई क्रमशः बढाएर समाजवादको शैक्षिक आधार तयार पार्नुपर्छ । हामीले राजतन्त्र त फाल्यौं । तर, सामन्ती सोंच पुरै सकिएको छैन । राजनीति, कर्मचारी र राष्ट्रसेवकहरुमा छोटे राजाको सोंच रहेसम्म जनताले परिवर्तनको अनुभूति गर्दैनन्, त्यसलाई समाप्त पार्नु हाम्रै कर्तव्य हो ।’‘हामीले सुशासन र समृद्धिका लागि गृहकार्य गर्न कार्यदल बनाएका छौं । भ्रष्टाचार मात्र रोक्न सक्यौं भने पनि देशमा सुशासनलाई स्थापित गर्न सकिन्छ । समाज र राष्ट्रमा नयाँ संस्कार र सभ्यता स्थापित गर्न सकिन्छ’, प्रचण्डले भन्नुभयो, ‘चरित्र र नैतिकताको निर्माण शिक्षाबाटै हुन्छ । हामीले कस्तो शिक्षा दियौं ? कस्तो संस्कार सिकायौं ? त्यतातिर पनि समीक्षा जरुरी छ ।’सम्मेलनपूर्व भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले गरेका दुरगामी महत्वका विषयहरु आफूहरुलाई मान्य नहुने र नयाँ सरकारले त्यसलाई खारेज गर्ने स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?