चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

काठमाडौं । राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।

 

सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रवार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । वुहानको केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ लीको डाक्टरको उत्तम प्रयासको बावजुद कोरोना भाइरस सङक्रमित भएपछि शुक्रवार बिहान मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रबार एक विज्ञप्तिमार्फत् लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

एनएचसीले चिकित्सा कर्मीहरु, जसले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति बिशेष आभार प्रकट गर्दै उनीहरूको राज्यबाट उच्च मूल्याङ्कन भएको उल्लेख गरेको छ ।

महामारी नियन्त्रणको यो अत्यन्त महत्वपूर्ण घडीमा सम्पूर्ण समाजले चिकित्साकर्मीहरूलाई बढी सहयोग गर्नु पर्छ साथै समस्यालाई पार गर्न र भाइरसको प्रकोप विरुद्धको लडाईमाथि विजयका लागि एकजुट बन्नुपर्छ, एनएचसीले भनेको छ ।

यसबाहेक वुहान नगरपालिका प्रशासनले शुक्रवार एक सूचनामा लीको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

“हामी यस घडीमा उनको निधनप्रति गहिरो समवेदना व्यक्त गर्छौं, महामारीको बिरूद्ध अग्रमोर्चामा लड्ने उनलाई सम्मान व्यक्त गर्दछौँ साथै उनको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,” स्थानीय नगर प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?