सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

काठमाडौं । कोरोनाभाइरसबारे पहिलोपटक चेतावनी दिने चिनियाँ डाक्टरको मृत्यु भएको छ । उनको कोरोनाभाइरसको संक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षीय लि वेन्लियाङलाई कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् । उनले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए।

चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकको सङ्क्रमणकै कारण मृत्यु भएको उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

डिसेम्बर ३० मा उनले सहकर्मी चिकित्सकहरूलाई इन्टरनेटमार्फत् समूहिक रूपमा सम्भावित प्रकोपबारे सजग गराउँदै सङ्क्रमणबाट बच्न सुरक्षित पोसाक लगाउन भनेका थिए। तर त्यसबेला डा. लिलाई त्यो अहिलेसम्म नदेखिएको कोरोनाभाइरस थियो भन्ने थाहा थिएन।

आफू बिरामी परेपछि डा.लिले अधिकारीहरूले किन अझै कुनै स्वास्थ्यकर्मी सङ्क्रमित छैनन् भनिरहेका छन् भन्दै अचम्म मानेको जनाएका थिए । चार दिनपछि सार्वजनिक सुरक्षा निकायका अधिकारीहरू आएर उनलाई एउटा पत्रमा हस्ताक्षर गर्न लगाए । उक्त पत्रमा उनीमाथि ‘अनर्गल टिप्पणी गरेको’ र त्यसले ‘सामाजिक अवस्थालाई नराम्ररी खलबल पुर्‍याएको’ उल्लेख थियो । अफवाह फैलाएको आरोपमा अनुसन्धान गरिएका उनी आठजनामध्ये एक हुन् ।

चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ । बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

एजेन्सी

यो पनि पढ्नुहोस् : चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?