जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस

काठमाडौं । एक चिनियाँ नवजात शिशुमा कोरोनाभाइरस देखिएको छ । कोरोना भाइरसको केन्द्रबिन्दु वुहान शहरको स्थानीय अस्पतालमा जन्मिएका उक्त शिशुमा जन्मेको ३० घण्टा पछि कोरोनाभाइरस देखिएको हो । उनी कोरोना भाइरसबाट संक्रमित सबैभन्दा कान्छा व्यक्ति भएका छन् ।

बच्चालाई जन्म दिनुअघि नै आमा यस भाइरसबाट संक्रमित थिइन् । हालसम्म निकै कम नवजात शिशुमा मात्र यसको संक्रमण देखिएकाले नवजात शिशुलाई यो रोग कसरी संक्रमित भयो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

जन्मदा शिशुको तौल ३.२५ केजी थियो । अहिले शिशुलाई डाक्टरहरुको पर्यवेक्षणमा राखिएको छ ।

यस घटनाले कोरोनाभाइरस आमाबाट बच्चामा पनि सर्ने सम्भावना हुन्छ भन्ने कुरामा सबैको ध्यानाकरर्षण गरेको वुहान चिल्ड्रेन अस्पतालको नवजात चिकित्सा विभागका प्रमुख चिकित्सक, जेन लिङकङले बताएका छन् ।  जन्म भएपछि शिशु आमासँग रहेको कारण पनि संक्रमण भएको हुनसक्ने अनुमान उनको छ ।

 

चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् । चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र अस्पताल बनाइसकेको छ ।

कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । बुधबार बिहान हङकङमा एक जनाको मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

यो पनि पढ्नुहोस् : चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?