विभिन्न ९ वाणिज्य बैंकको वित्तीय विवरण, कस्को नाफा कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक पुर्ण रुपमा सकिएको छ । यसै क्रममा बैंकले दोस्रो त्रैमासिकसम्मको विभिन्न ९ बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । आर्थिक वर्षको यो अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । साथै यस अवधिमा भएको नाफाको आधारमा नै बाँकि वर्षको अवस्था कस्तो हुने भन्ने कुराको आंकलन गर्न सकिन्छ । कस्तो छ त विभिन्न बैंकहरुको वित्तीय विवरण ? तल विस्तृत विवरण प्रस्तुत गरिएको छ ।

एन आई सी एशिया बैंक लिमिटेड

एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासकोअपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसुचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकले चालू आ व को यस अवधिमा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड) को वृद्धि सहित २ अर्ब १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकका अनुसार गत वर्षको सोहीअवधीको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।

यसका साथै चालू आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याउन सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा लगानी गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रुपले पालना गरेको बैंकले जनाएको छ ।

विविधिकरणकै रणनीति अनुसार बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जसलाई बैंकिङ्ग क्षेत्रको उत्कृष्टमानिने बैंकले जनाएको छ ।एन आइ सी एशिया निक्षेपतर्फ पनि विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कुल निक्षेप हाल कुल निक्षेपको ९ दशमलव ४ प्रतिशत रहेको छ, जून अनुपातलाइ बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक मानिने गरिएको छ ।

बैंकका अनुसार चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ ।निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ,जसलाई बैंकिङ्गक्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप (CASA) हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जसबाट ४१।६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५ दशमलव १ प्रतिशत पु(याउन सफल भएको बैंकले जनाएको छ ।त्यस्तै बैंकका अनुसार प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट
रहेको थियो ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । जुन अघिल्लो आवको यहि अवधिको तुलनामा ४ दशमलव २१ प्रतिशतले बृद्धि भएको हो । बैंकका अनुसार बैंकको पहिलो त्रैमासिकको तुलनामा मात्रै नाफा ४५ करोड ७३ लाख रुपैयाँले बृद्धि गरेको छ ।

बैंकको यस अवधिमा व्याज खर्च तथा व्याज आम्दानी बराबरीको हाराहारीमा रहेको छ । बैंकको यस अवधिमा खुद व्याज आम्दानी १४ प्रतिशतले बृद्धि भइ २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । भने व्याज खर्च १५ प्रतिशतले बृद्धि भइरहेको छ ।

त्यस्तै बैंकको एक वर्षको अवधिमा निक्षेप १० अर्ब बढाएको छ । जसका कारण बैंकको निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । भने बैंकले कर्जा प्रवाह ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ । जसमा बैंकले ८ अर्ब ५८ करोड रुपैयाँले बृद्धि गरेको हो ।

साथै हाल बैंकको खराब कर्जाको अनुपात २ दशमलव ४७ प्रतिशतबाट बृद्धि भएर ३ दशमलव १२ प्रतिशत पुगेकाे छ । भने बैंकको स्प्रेडदर यस अवधिमा सामान्य रुपमा घटेको छ । जस अन्तर्गत बैंकको स्प्रेडदर ४ दशमलव ८७ रहेको थियो भने हाल सामान्य रुपमा कमि भइ ४ दशमलव ८३ प्रतिशतमा झरेको बैंकले जनाएको छ । भने बैंकको आधारदर ९ दशमलव ७३ प्रतिशतबाट ९ दशमलव ४५ प्रतिशतमा पुगेको बैंकले जनाएको छ ।

सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको यस अवधिमा ९४ करोड नाफा कमाएको छ । भने अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ७९ करोड २७ लाख नाफा कमाएको थियो । यसलाई मूल्यांकन गरेर हेर्ने हो भने बैंकले यस अवधिमा आफ्नो नाफा १९ दशमलव १२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

बैंकका अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा साथै प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकको यस वर्ष प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा रहेको थियो । भने यस वर्षको दोस्रो त्रैमासिकसम्ममा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा कायम भएको बैंकले जनाएको छ । साथै यसलाई मूल्यांकन गर्दा मूल्य आम्दानी अनुपात १९ दशमलव २१ प्रतिशतले बृद्धि भएको छ । भने प्रतिशेयर नेटवर्थ भने १ सय ४२ रुपैयाँ २६ पैसा कायम भएको छ ।

हालसम्म बैंकको कुल चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको छ । त्यस्तै जगेडा कोषमा २ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको छ भने शेयरधनि कोषमा ८५ करोड ८८ लाख रहेको बैंकले जनाएको छ ।

बैंकले आवको यस अवधिसम्ममा कुल ८२ अर्ब १५ करोड निक्षेप संकलन गर्न सफल भएको छ । भने कर्जा प्रवाह ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । जसबाट बैंकको खुद नाफा आम्दानी भने २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ संकलन गर्न सफल रहेको बैंकको तथ्यांकले देखाएको छ । यो भने गत आवको तुलनामा ३२ करोड ६० लाख रुपैयाँले बढि रकम हो । हरेक बैंक तथा वित्तीय संस्थाको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । जसमा बैंकले कमाएको नाफाको आधारमा नै बाँकी समय के हुन्छ भन्ने कुराको आँकलन गर्न सकिन्छ ।

यस अवधिमा अन्य सूचकमा समेत सुधार आएकाले बैंकको सञ्चालन मुनाफा २०करपोड ९२ लाख रुपैयाँ बृद्धि भएको छ । जसको कारण सञ्चालन मूनाफा बृद्धि भइ १ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको बैंकको तथ्यांकमा उल्लेख रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको पुस मसान्तसम्मको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।

माछापुछ्रे बैंक लिमिटेड

माछापुछ्रे बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ६ महिनाको अवधिमा ८२ करोड नाफा कमाउन सफल भएकाृ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिमा बैंकले ७२ करोड मात्र नाफा कमाएको थियो ।

आवको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । त्यस्तै बैंकको सिडी अनुपात ७८ दशमलव २७ प्रतिशत कायम गरेको छ । जसमा यस अवधिमा बैंकले ९७ अर्ब निक्षेप संकलन गर्दा ८७ अर्ब कर्जा लगानी गरेको छ । भने यस समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ९८ करोड रुपैयाँ पुर्याउन सफल भएको जनाएको छ । हाल बैंकको कुल चूक्ता पूँजी ८ अर्ब ४५ करोड रहेको छ । भने जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

साथै बैंकको पुस मसान्तसम्ममा कुल वितरणयोग्य नाफा भने ६० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । हाल बैंकको स्प्रेडदर भने ५ दशमलव २५ प्रतिशत रहेको छ । त्यस्तै बैंकको कस्ट अफ फण्ड ७ दशमलव ६४ प्रतिशत रहेको छ । भने आधारदर १० दशमलव २६ प्रतिशत रहेको छ ।

कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ८० करोड ३० लाख रुपैयाँ बराबर खुद नाफा कमाएको छ । बैंकले गत आवको तुलनामा १८ दशमलव ७५ प्रतिशत नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिमा बैंकले ६७ करोड ६२ लाख कमाएको थियो ।

साथै यो आवको पुस मसान्तसम्ममा वितरणयोग्य नाफा भने ६५ लाख ८५ हजार रहेको छ । त्यस्तै हाल बैंकको चूक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रहेको छ ।
यस वर्ष जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख कायम भएको छ । त्यस्तै अघिल्लो वर्षको यहि अवधिमा भने बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड ५० लाख रुपैया रहेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ७ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस अवधिमा निक्रिय कर्जा १ दशमलव शुन्य ४ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १६ दशमलव ६७ रहेको बैंकको तथ्यांकले देखाएको छ ।
साथै बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रहेको छ । जून गत वर्षको तुलनामा १० प्रतिशतले बढि हो । भने कर्जा प्रवाह ८२ अर्ब ९२ करोड ५२ लाख भएको बैंकले जनाएको छ । जून अघिल्लो आवको यहि अवधिको तुलनामा १० दशमलव ८२ प्रतिशतले बढि हो ।

प्राइम कमर्शियल बैंक

प्राइम कमर्शियल बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको यस अवधिमा करिव १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ बराबर कर्जा तथा लगानी गर्न सफल भएको छ । त्यस्तै गत आर्थिक वर्षमा भने बैंकको यस्तो कर्जा तथा लगानी ७२ अर्ब ४५ करोड ५४ लाख रहेको तथ्यांकले देखाएको छ । साथै हाल प्रकाशित भएको उक्त विवरण अपरिकृत वित्तीय विवरण रहेको बैंकले जनाएको छ ।

बैंकले एक वर्षको अवधिमा करिब ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा लगानी बढाएको छ । जसअनुसार हाल कुल निक्षेप रकम ३ अर्ब ३१ करोड रुपैयाँले बढाएको छ । त्यस्तै यस अवधिमा सर्वसाधारणको ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै गत आवको यस अवधिमा भने यस्तो निक्षेप ७७ अर्ब ४ करोड रहेको छ ।

हरेक बैंक तथा वित्तीय संस्थाको लागि यस अवधिलाइ समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । साथै यस अवधिमा खराव कर्जा अनुपात समेत घटेको छ । जस अनुसार १ दशमलव ५८ प्रतिशतले कमि भइ १ दशमलव ४५ प्रतिशतमा आएको छ । भने कस्ट अफ फण्ड ८ दशमलव २९ प्रतिशतबाट घटेर ७ दशमलव ६५ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको व्याज अन्तरपनि ५ दशमलव ११ प्रतिशत रहेको छ भने अघिल्लो आवको यहि अवधिमा ५ दशमलव १८ प्रतिशत रहेको थियो ।

भने यस वर्ष आधारदर पनि कमि भएको छ । जस अनुसार पुस मसान्तसम्मा १० दशमलव १७ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तसम्ममा ९ दशमलव ४५ प्रतिशतले झरेको छ ।

लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको उक्त अवधीमा २५ प्रतिशतले नाफा बृद्धि गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । भने चालू आवको दोस्रो त्रैमासमा बैैंकको नाफा ९० करोड ३० लाख कमाएको छ । जस अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४ दशमलव ७६ प्रतिशतले बढाउन सफल भएको छ ।

हाल बैंकको चूक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको छ । बैंकको खुद नाफा बृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बृद्धि भएको बैंकले जनाएको छ । त्यसै अनुसार बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

बैंकका अनुसार चालू आवको यस अवधीमा प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९० पैसा रहेको छ। भने मूल्य आम्दानी अनुपात ११ दशमलव ११ प्रतिशत रहेको छ । त्यस्तै वितरणयोग्य नाफा ५९ करोड १८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकको अनुसार हाल जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ रहेको छ । साथै शेयरधनि कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको तथ्यांकमा उल्लेख रहेको छ ।

बैंकको यस अवधिमा निष्क्रिय कर्जा १ दशमलव ११ प्रतिशतबाट घटेर ० दशमलव ८८ मा सिमीत भएको छ । त्यस्तै चालू आवको दोस्रो अवधिसम्म आइपुग्दा बैंकको कष्ट अफ फण्ड ७ दशमलव २१ प्रतिशत, आधारदर १० दशमलव ९ प्रतिशत साथै स्प्रेडदर ४ दशमलव २३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड नाफा कमाएको तथ्यांकले देखाएको छ । तर अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा भने बैंकले नाफा घटाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तथ्यांक अनुसार बैंकले सो अवधिमा कर्जा विस्तारको हिसावमा भने सामान्य सुधार देखिएको छ । बैंकको कष्ट अफ फण्ड १ दशमलव ६१ प्रतिशत विन्दुले बढेको छ । साथै निष्क्रिय कर्जा २ दशमलव ७४ प्रतिशतबाट घटेर २ दशमलव ६६ प्रतिशतमा सिमित रहेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रहेको छ । भने जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको छ । भने शेयरधनी कोषमा २ अर्ब ५९ लाख ८२ हजार रुपैयाँ तथा शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकले यस अवधिमा सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकको वितरणयोग्य नाफा ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ । साथै प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १० दशमलव ५ गुणा रहेको छ । त्यस्तै १५ प्रतिशत बोनस शेयर पूँजीकरण पश्चात प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९७ पैसा कायम हुने बैंकले जनाएको छ ।

सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १४ करोड नाफा कमाउन सफल भएको छ । आघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १६ प्रतिशत नाफा बृद्धि गरेको छ । बैंकको अघिल्लो आवको यो अवधिमा कुल नाफा ९८ करोड रहेको थियो ।

चालु आवको यस अवधिसम्ममा बैंकको निक्षेप १ खर्ब पुर्याएको जनाएको छ । बैंकले पुस मसान्त सम्ममा कुल ८८ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । भने असार मसान्तमा बैंकले कुल ८१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जस अनुसार यो आर्थिक वर्षमा सानिमा बैंकको वित्तीय परिसुचकमा सुधार भएको पाइएको छ ।

आवको यस अवधिसम्ममा बैंकको सेयरधनिको लागि वितरणयोग्य नाफा ९५ करोड संकलन गरेको छ । भने बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रहेको छ । त्यस्तै रिजर्बमा २ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकले ६ महिनामा ब्याज आम्दानी मार्फत २ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको पुस मसान्तमा ब्याज आम्दानी मार्फत १ अर्ब ९० करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?