तीनपिप्ले-गल्छी सडक र कोल्पुमा नयाँ सहर निर्माण सरकारको प्राथमिकतामा : राज्यमन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले तीनपिप्ले–गल्छी सडक आयोजनालाई प्राथमिकतामा राख्ने प्रतिवद्वता जनाएका छन् । नुवाकोटको बन्चरेडाँडा–चाउथे सडकको अवलोकनका लागि पुगेका मन्त्री मानन्धरले चीनको केरुङबाट आउने अन्तर्राष्ट्रिय राजमार्गको गल्छिदेखि काठमाडौं उपत्यका भित्रन छोटो दुरी पर्ने गल्छि–चाउथे–तिनपिप्ले–बालाजु सडक निर्माणलाई आफुले प्राथमिकता दिने बताए ।

उनले आगामी आर्थिक वर्षदेखि यो सडक निर्माणका लागि आवश्यक कार्य आरम्भ गर्ने प्रतिवद्वता समेत जनाएका छन् । धादिङको गल्छीबाई हालको मुख्य राजमार्ग हुँदै थानकोट आइपुग्न कम्तिमा ६० किलोमिटर पार गर्नुपर्दछ । तर, यो मार्ग निर्माण भए करिब १५ किलोमिटर बाटो छोटो हुने छ ।

यस्तै मन्त्री मानन्धरले बन्चरेडाँडास्थित ल्याण्डफिल्डसाईट काठमाडौं जाने बाटोको दुरी पनि ९ किलोमिटर छोटो बनाउने वैकल्पिक मार्ग निर्माण गर्न सकिने जानकारी दिए । मन्त्री मानन्धरले उपत्यकाको जनधनत्व कम गर्न र उपत्यका बाहीर पनि व्यवस्थित सहरीकरणका लागि सरकारले विभिन्न प्रयास थालेको बताए । टोखा–छहरे सुरुङ मार्ग निर्माण स्थल छहरेदेखि ढिकुरे–देबीघाट–महादेवफाँट–गल्छीहुँदै तीनपिप्ले निस्कनेगरी उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने चक्रपथ निर्णाणको सम्भाव्यता अध्ययनका लागि आफुले पहल थाल्न लागेको पनि मन्त्री मानन्धरले जानकारी दिए ।

विकासको पहिलो आधारका रुपमा सडक रहेको बताउँदै उच्च गतिका व्यवस्थित सडकसँगै नयाँ सहरहरु निर्माण गर्न सकिने मन्त्री मानन्धरको भनाई छ । मन्त्री मानन्धरले गल्छी–तिनपिप्ले सडकको निर्माणसँगै कोल्पुखोलादेखि चाउथेफाँटसम्म नयाँ सहर बसाउन सकिने बताए ।

मानन्धरले कोल्पुमा नयाँ सहर निर्माणका लागि पहल थाल्ने पनि बताएका छन् । काठमाडौं उपत्यकाबाट नजिक रहेकाले पनि यो क्षेत्रमा नयाँ सहर निर्माण सम्भव रहेको बताउँदै मन्त्री मानन्धरले सहरीकरणका लागि आवश्यक पुर्वाधार निर्माणका लागि नीतिगत निर्णय गरेर अघि बढ्न सकिने बताए ।

नयाँ सहरका लागि आवश्यक विद्युतिकरण, अस्पताल, विद्यालय, खेलकुद मैदान, पार्क र औद्योगिक विकासका लागि पनि एकिकृत रुपमा पहल थालिनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले पुर्वाधारसहितको विकास गर्ने बताए ।

धादिङको नौबिसे र नुवाकोटको छहरेमा निर्माण हुने सुरुङ मार्गका कारण यो क्षेत्रको विकासले गति लिने बताउँदै चीनको केरुङ नाकामार्फत् हुने आर्थिक गतिविधिको प्रत्यक्ष लाभ लिन सकिने मन्त्री मानन्धरको तर्क छ । अबको केही वर्षमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण हुने बताउँदै मन्त्री मानन्धरले यस क्षेत्रका जनताले बिकासको उच्च लाभ लिनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?