…त्यो भयावह आगलागी, ५ महिनासम्म निभेन आगो (अस्ट्रेलिया डढेलो अपडेट)

अस्ट्रेलियाको भीषण डढेलोमा लाखौं जीवजन्तु, कीराफट्याङ्ग्रा तथा पशुपन्छीदेखि मानवजीवन, वस्ती लगायत आगो नियन्त्रण टोलीका सदस्यहरुको समेत मृत्यु भयो । आगलागीका हृदयविदारक तस्वीर तथा भिडियोहरुले विश्वकै ध्यानाकर्षण ग-यो ।

हुन पनि सन् २०१९ को सेप्टेम्बर महिनाबाट क्वीन्जल्याण्ड र न्यू साउथवेल्स राज्यबाट शुरु भएको अस्ट्रेलियाको डढेलो फैलिँदै दक्षिण अस्ट्रेलिया, तास्मानिया, भिक्टोरिया र पश्चिम अस्ट्रेलियासम्म पुग्यो ।

करिब ५ महिनासम्म लागेको डढेलो बीचमा पानी परेपछि केही हदसम्म साम्य भएको छ तर, अझै पनि पूर्ण रुपमा नियन्त्रणमा आइसकेको भने छैन । प्रयास जारी छ । यही प्रयासमा जुटेका आगो नियन्त्रकहरुले समेत ज्यान गुमाउनुप-यो ।

अस्ट्रेलियाको मौसम विज्ञान विभागका अनुसार सन् २०१९ अस्ट्रेलियाको सबैभन्दा तातो र सुख्खा वर्ष रह्यो ।

टाइम म्यागाजिनका अनुसार अहिलेसम्म डढेलोले अस्ट्रेलियाको ५ करोड एकर भन्दा बढी जमिन ध्वस्त बनाइसकेको छ । त्यस्तै, आगलागीमा परी अनुमानित १ सय करोडभन्दा बढी जीवजन्तुले ज्यान गुमाइसकेका छन्, लोपोन्मुख जीवजन्तुको सङ्ख्या झनै घटेको छ । ५ हजार ९ सय भवनहरु नष्ट भएका छन् जसमध्ये २ हजार ७ सय ७९ वटा घर रहेका छन् ।

न्यू साउथ वेल्समा आगो नियन्त्रण गर्न खटिएको आगो नियन्त्रक विमान दुर्घटनामा परी चालकसहित ३ जनाको मृत्युसमेत भएको छ । अहिलेसम्म ३४ जनाले ज्यान गुमाइसकेका छन् (समाचार तयार पार्दासम्मको तथ्याङ्क) ।

कति रुख, बोटबिरुवा मासिए, आँखाले नभ्याउने कीराहरु यसै माटोमा मिले त्यसको लेखाजोखा छैन । डढेलोबाट निस्किएको धुवाँको मुस्लोले छिमेकी राष्ट्र न्यूजिल्याण्डलाई समेत असर पुयाइरहेको छ । सन् २०२० को जनवरी २ सम्ममा ३ सय ६ मिलियन टन कार्बन डायक्साइड उत्पादन भएको नासाको अनुमान छ ।

आगलागीकै कारण अस्ट्रेलियाले पर्यटनबाट भित्रिने राजस्वमा १ बिलियन डलर्सको घाटा बेहोरेको छ ।

आफ्ना देशका आगो नियन्त्रकहरुले नपुगेर आगो नियन्त्रणमा लिनलाई अस्ट्रेलियाले अन्य राष्ट्रबाट पनि सहयोग लिइरहेको अवस्था छ । अनुसन्धानकर्ताहरु भन्छन्, ‘अस्ट्रेलियाको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो डढेलो हो ।

यसको मतलब के अस्ट्रेलियामा पहिलादेखि नै यस्तो डढेलो लाग्ने गरेको थियो त ?

हो ।

विकिपिडियाका अनुसार अस्ट्रेलियामा सन् १८५१ देखि डढेलोकै कारण ८ सयभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । बिबिसीका अनुसार हरेक वर्ष अस्ट्रेलियामा ५२ हजारदेखि ५४ हजारसम्म डढेलो लाग्ने गर्दछ । जसमध्ये १३ प्रतिशत जानीजानी लगाइएको पुष्टि भएको छ भने ३७ प्रतिशत जानीजानी लगाइएको ‘शंका’ गरिएको छ । जंगलमा बार्बिक्यु गर्दा, चुरोट सेवन गर्दा वा अन्य लापरवाहीले गर्दा लाग्ने डढेलोलाई यसमा जोडिएको छैन ।त्यसभन्दा अतिरिक्त प्राकृतिक कारणहरुले हुने गरेको छ जस्तै चट्याङ, अधिक सुख्खापन, अत्याधिक तापक्रम आदि ।

यसअघिको सबैभन्दा ठूलो डढेलो सन् २००९ मा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको ‘ब्ल्याक स्याटर्डे बुसफयर’ नामक डढेलालाई मानिएको छ जसमा १ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

लोकपथको यो समाचार पढ्नुभएको थियो ?

अष्ट्रेलियाको आगलागी : भवितव्य कि पूर्वयोजना ? जलवायु परिवर्तनमा मौनता साँधेकाले सिंगो विश्वको यस्तो आशंका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?