अष्ट्रेलियाको आगलागी : भवितव्य कि पूर्वयोजना ? जलवायु परिवर्तनमा मौनता साँधेकाले सिंगो विश्वको यस्तो आशंका

अस्ट्रेलियामा भएको भीषण आगलागीको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । जलेर खरानी भएका जनावर, रुख, बोटबिरुवा, पन्छीको शवदेखि आफ्नो ज्यान जोगाउन जलेको शरीर लिइ त्रासमा यताबाट उता दगुरिरहेका निर्दोष प्राणीहरुको फोटो/भिडियोले धेरैको मुटु नमीठोसँग निमोठेको छ । केही जनावरलाई उद्धार गरेर पानी पिलाइरहेको, आगोबाट निकालिसकेपछि उनीहरुले मानिसलाई गर्लम्म अंगालो हालेको आदिजस्ता कारुणिक दृश्यले गहिरो प्रभाव पारेको छ विश्वकै मानसिकतामा । आफ्नो मोबाइल तथा कम्प्युटर स्क्रिनबाट तस्वीर, भिडियो हेर्नेहरुको मन त यति भारी भएको छ भने यस विपत्तिलाई भोगिरहेका मानिसहरुको मानसिक स्थिति कुन परिस्थितबाट गुज्रिरहेको होला भन्दै सहानुभूति व्यक्त गरिरहेका छन् मानिसहरु ।

तस्वीर : गुगल

हुन पनि आगलागी शुरु भएको ४ महिनाभन्दा बढी भइसक्यो ।

सन् २०१९ को सेप्टेम्बर महिनाबाट क्वीन्जल्याण्ड र न्यू साउथवेल्स राज्यबाट शुरु भएको अस्ट्रेलियाको डढेलो अहिले दक्षिण अस्ट्रेलिया, तास्मानिया, भिक्टोरिया र पश्चिम अस्ट्रेलियामा फैलिसकेको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । बरु झन्झन् फैलिँदै गएको छ । अस्ट्रेलियाको मौसम विज्ञान विभागका अनुसार सन् २०१९ अस्ट्रेलियाको सबैभन्दा तातो र सुख्खा वर्ष रह्यो ।

टाइम म्यागाजिका अनुसार डढेलोले अस्ट्रेलियाको १२ मिलियन एकर भन्दा बढी जमिन ध्वस्त बनाइसकेको छ । त्यस्तै, आगलागीमा परी ५० करोडभन्दा बढी जीवजन्तुले ज्यान गुमाइसकेका छन्, न्यू साउथ वेल्समा मात्रै १३ सय भन्दा बढी घरहरु खरानी भएका छन् र ३ जना आगो नियन्त्रक टोलीका व्यक्तिसहित २५ जनाले ज्यान गुमाइसकेका छन् (समाचार तयार पार्दासम्मको तथ्याङ्क) । कति रुख, बोटबिरुवा मासिए, आँखाले नभ्याउने कीराहरु यसै माटोमा मिले त्यसको लेखाजोखा छैन । डढेलोबाट निस्किएको धुवाँको मुस्लोले छिमेकी राष्ट्र न्यूजिल्याण्डलाई समेत असर पु-याइरहेको छ ।

आफ्ना देशका आगो नियन्त्रकहरुले नपुगेर आगो नियन्त्रणमा लिनलाई अस्ट्रेलियाले अन्य राष्ट्रबाट पनि सहयोग लिइरहेको अवस्था छ । यद्यपि, आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

तस्वीर : गुगल

अनुसन्धानकर्ताहरु भन्छन्, ‘अस्ट्रेलियाको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो डढेलो हो ।

यसको मतलब के अस्ट्रेलियामा पहिलादेखि नै यस्तो डढेलो लाग्ने गरेको थियो त ?

हो ।

विकिपिडियाका अनुसार अस्ट्रेलियामा सन् १८५१ देखि डढेलोकै कारण ८ सयभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । बिबिसीका अनुसार हरेक वर्ष अस्ट्रेलियामा ५२ हजारदेखि ५४ हजारसम्म डढेलो लाग्ने गर्दछ । जसमध्ये १३ प्रतिशत जानीजानी लगाइएको पुष्टि भएको छ भने ३७ प्रतिशत जानीजानी लगाइएको ‘शंका’ गरिएको छ । जंगलमा बार्बिक्यु गर्दा, चुरोट सेवन गर्दा वा अन्य लापरवाहीले गर्दा लाग्ने डढेलोलाई यसमा जोडिएको छैन ।
त्यसभन्दा अतिरिक्त प्राकृतिक कारणहरुले हुने गरेको छ जस्तै चट्याङ, अधिक सुख्खापन, अत्याधिक तापक्रम आदि ।

यसअघिको सबैभन्दा ठूलो डढेलो सन् २००९ मा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको ‘ब्ल्याक स्याटर्डे बुसफयर’ नामक डढेलालाई मानिएको छ जसमा १ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

तस्वीर : गुगल

मौसम परिवर्तनको नतिजा हो ?

अस्ट्रेलियाका लागि डढेलो कुनै नौलो घटना होइन । यतिसम्म कि यस देशमा ‘डढेलो लाग्ने मौसम’ भनेर निश्चित मौसमलाई जोखिमपूर्ण घोषणा गरिएको छ ।
डिसेम्बरदेखि फेब्रुअरीसम्म चल्ने गर्मी महिनामा तापक्रम अधिक बढेर जाने र अत्याधिक सुख्खापन हुनाले अस्ट्रेलियामा विशेष गरेर यिनै मौसममा डढेलो लाग्ने गर्दछ । तर, यस वर्ष डिसेम्बर शुरु नभइ डढेलो लाग्न शुरु भयो ।

मौसमविद्हरुका अनुसार अस्ट्रेलियामा यसअघि यति छिटो र यति भीषण डढेलो कहिल्यै लागेको थिएन । कतिपयले त यसलाई मौसम परिवर्तनको एउटा विद्रुप नतिजाका रुपमा पनि चित्रण गरिरहेका छन् भने कसैले यसरी डढेलोलाई प्रत्यक्ष रुपमा मोसम परिवर्तनसँग दाँज्न नमिल्ने अभिव्यक्ति राखेका छन् ।

अस्ट्रेलियाका बुसफायर र प्राकृतिक जोखिम सहकारी अनुसन्धान केन्द्रका प्रमुख डा रिचार्ड थर्नटनका अनुसार कुनै पनि घटना भइरहेको छ भने जबसम्म त्यसको अन्त्य हुँदैन तबसम्म कुनै पनि नतिजामा हामफल्नु समझदारीको काम होइन त्यसैले अहिले नै डढेलोको कारण मौसम परिवर्तन हो भनेर दाबी गर्नु उपयुक्त होइन ।

यद्यपि, बिबिसीका अनुसार वैज्ञानिकहरुले धेरै अघि नै मौसम परिवर्तनका कारण अस्ट्रेलियामा बढिरहेको तापक्रम र सुख्खापनले डढेलोको मात्रा र आवृत्ति बढाउनेछ भनेर बारम्बार चेतावनी दिँदै आएका थिए ।

देशको मौसम विज्ञान विभागले पनि सन् २०१८ मा मौसम सम्बन्धि तयार पारेको एक रिपोर्टमा मौसम परिवर्तनका कारण तापक्रम बढिरहेको र यसले देशमा खडेरीजस्तो प्राकृतिक प्रकोप निम्त्याउने बारेमा उल्लेख गरिएको थियो ।

त्यस्तै, आगलागीसँग सम्बन्धित विभिन्न निकायका प्रमुख र केही नेताहरुको २३ जनाको समूहले मौसम परिवर्तन र यसले निम्त्याउने प्राकृतिक प्रकोपका बारेमा सरकारको ध्यानाकर्षण गर्दै बैठकका लागि आग्रह गरेतापनि सरकारले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

मौसम परिवर्तनको विषयमा अस्ट्रेलियन सरकारले मौनता साँध्दै आएको यिनै कुराहरुले पनि प्रष्ट्याउँछ ।

तस्वीर : गुगल

नेताहरुको घोर भत्सर्ना

सामाजिक सञ्जालमा अहिले आगलागीको क्षतिसँगै अर्को भिडियो/तस्वीर पनि भाइरल भइरहेको छ । भिडियोमा अस्ट्रेलियन नागरिकले आफ्ना प्रधानमन्त्री स्कट मरिसनसँग हात मिलाउन नमानेको, उनलाई मूर्ख भनेको, सरापेको दृश्य देख्न सकिन्छ ।

म्रिसनको सरकारले बनाएको मौसमसम्बन्धि नीतिको निकै आलोचना हुँदा पनि त्यसको संशोधनमा ध्यान नदिएको बरु उल्टै त्यसको बचाउमा बोल्दै आएकाले पनि अस्ट्रेलियाली जनताहरु प्रधानमन्त्रीसँग रुष्ट थिए । त्यसमाथि देश जलिरहेको वेला परिवारसँग छुट्टि मनाउन हवाई गएको कुराले त झनै उनलाई आलोचनाको चुचुरोमा पु-याएको छ ।

जनताले प्रधानमन्त्रीको यतिसम्म विरोध गरे कि आगलागी भएको ठाउँमा स्थलगत निरिक्षण गर्न पुगेका मरिसनले हतारहतार आफ्नो गाडीमा फर्किनुप-यो ।

तस्वीर : गुगल
तस्वीर : गुगल
तस्वीर : गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?