सरकारी खर्चमा जनप्रतिनिधिको मस्ती

डोल्पा, १२ माघ- डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् । सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन् । शे-फोक्सुन्डो गाउँपालिकाले सबैभन्दा बढी ३५ लाख र मुड्केचुला गाउँपालिकाले सबैभन्दा कम पाँच लाख रुपैयाँ भ्रमणका लागि विनियोजन गरेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ शे-फोक्सुन्डोले भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख टासीटुण्डुप गुरुङले जानकारी दिए । उनले ‘माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको विकासका लागि’ भ्रमणमा पठाएको दाबी गरे । ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ’ भन्ने नै मुख्य उद्देश्य रहेको भ्रमण टोलीमा रहेका शे-फोक्सुडो गाउँपालिका-४ का वडाध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए । उनका अनुसार स्थानीय तहमा रहेका विभिन्न खनिज तथा जडीबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोतको संरक्षण र प्रयोग, महिला समूहहरूको सीप विकास, महिलाको रोजगार व्यवस्थालगायत विभिन्न उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्केका हुन् माथिल्लो डोल्पाका जनप्रतिनिधि र स्थानीयले हालसम्म पनि नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने र परिचयमात्र दिन कठिन हुने अवस्था रहेकाले यो भ्रमण प्रभावकारी हुने वडाध्यक्ष लामाले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?