विपुल अधिकारी/काठमाडौं । इलाम जिल्लाको मंगलबारे नगरपालिका–४ सिङ्गलपाका श्याम अधिकारीले १८ महिना अघि विदेश जाने मनसाय बनाए । श्रीमतीसँग सल्लाह गरे, विदेश जान्छु केहि रुपैयाँ कमाउला एउटा घर बनाउँला भनेर । श्रीमतीले सुरुमा आग्रह गरिन सकेसम्म यहि केहि गरौँ, विदेश नजानु भनेर । तर श्यामले वर्तमान परिस्थिती, बढ्दै गएको महँगी, लालावालाको जिम्मेवारी, आफूहरुसँग अभाव भएको पूँजीलगायतका कुरा सेयर गरेर सपना श्रीमतीलाई मनाए ।
उनले दोहोर्याउँथे आफ्ना दुईवटा छोराका भविष्यबारे सोच्नुछ । नेपालमा राम्रोसँग कमाइ गर्न नसकिने, कमाए पनि नबच्ने भन्दै उनले रोजगारीका लागि जुनुकै हालतमा विदेश जाने निर्णय गरे । उनको सपना मिठो थियो । र त त्यहिँ कल्पनामा डुबेर श्रीमतीले अनुमति दिईन् । हुन्छ…!
श्रीमती, घर परिवार र दुईवटा छोराको भविष्य बनाउन, उनीहरुको शिक्षादिक्षा, पालनपोषणको लागि र सुखि, खुसी जीवन यापन गर्ने कल्पनाका साथ ऋण काढेर मलेसिया उडेका श्यामको लाश बाकसमा आयो ।
सुन्दै कल्पनाजस्तो, उदेगलाग्दो यो घटनाले श्यामकी श्रीमती २६ वर्षिया सुजता अधिकारी दुलालको फूलजस्तो जीवन ओईलायो ।
कसरी भयो घटना ?
नेपालबाट उडेपछि श्यामले मलेसियामा सेक्युरेटीमा काम गर्न थाले । आफ्ना छोराहरुलाई खुवै सम्झिरहने उनी मंसिर २३ गते बेलुकी श्रीमतीसँग फोनमा गफ गरे । आधा घण्टा फोनमा व्यवहारीक कुरा गरे श्रीमतीले आफ्नो पेटमा समस्या भएको सुनाईन् । उनले भोली अस्पताल जानु । आफ्नो ख्याल गर्नु भने । भोली विहान गफ गर्न भ्याउदिन होला । भोली बेलुका गफ गरौला नानिहरुको ख्याल गर्नु है भने । हँसिलो मुहारमा गफिएका उनलाई ठिकठाक थियो । उनको भाषामा विन्दास । श्रीमतीसँग कुराकानीको क्रममा उनले थपे रात धेरै भइसक्यो भोली ड्युटी जानुपर्छ फोन राख… । कुराकानीपछि उनले फोन राखे र सुते । भोली पल्ट श्रीमती सुजताले फेसबुक खोलीन् श्रीमान् अनलाईन देखिनन् । सोचिन् ड्युटी जानुभएछ । उनी आफ्नो पेटमा भइरहेको समस्याको उपचार गर्न इलाम तिर लागिन् ।
हो, यहिनेर निभ्यो सुजताको दियो । उनले आफ्नो पेटको समस्याबारे चिकित्सकसँग जानकारी लिँदै गर्दा यता परिवारमा श्यामको निधनको खबर आईपुग्यो ।
बेलुकी आफूसँग कुराकानी गरेर सुतेका श्रीमान अब कहिल्यै उठ्नेछैनन् । यो खबर थाहा पाएपछि उनको होसहवास उड्यो । हृदययघातबाट उनले सुतेकै ठाउँमा मृत्युवरण गरेका रहेछन् ।
पतिवियोगमा रहेकी सुजता भन्छिन्– ‘मैले सारै हत्ते गरेँ, विदेश नजानु भनेर । उहाँ नगई नसक्ने हुनुभयो । जानुभयो अब कहिलै फर्किनु हुन्न । पैसा कमाएर राम्रो घर बनाएर परिवारलाई खुसि राख्ने सपनाले मेरो संसार उजाडियो । हरेक रहरहरु मरे ।’
मलेसियामा प्राण त्याग्ने नेपाली धेरै
त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका स्थित नवमिडाँडाँका हेमलाल दुलाल पनि आफ्नो र सन्तानको भविष्यका लागि मलेसिया गए । दुलाल पनि आफ्ना एउटी छोरी र एउटा छोराको राम्रो भविष्य खोज्दै एक महिना अघिमात्र मलेसिया पुगेका थिए । गत असोज १६ गते उनको पनि हृदयघातकै कारण निधन भयो ।
दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ७ का दुर्गाबहादुर बिटालूको पनि मलेसियामा नै इहलिला समाप्त भयो । उनी १० वर्ष मलेसिया बसेर स्वदेश फर्किन १ महिना मात्र बाँकी थियो । पुस १३ गते विहान साथिहरुले सुतैकै ठाउँमा मृत भेटे । उनको सपना सायद पुरा हुँनै लागेको थियो । २ छोरी, १ छोराका बाबु विटालूको पनि सपना विदेशि भुमिमै सेलायो ।
यी माथि उल्लेख गरीएका घटना प्रतिनिधमुलक घटना मात्र हुन् र मलेसियामा देह त्याग गर्ने नेपालीहरुका हुन् । मलेसियामा मात्र हैन अन्य देशमा समेत नेपालीहरुको निधन भएका समाचार हरेक दिन आउने गर्छन् । नेपाल सरकारको तथ्याङ्कमा विदेशबाट दैनिक दुई जना नेपाली बाकसमा आउने गरेको पाइन्छ । यो सरकारी रेकर्ड हो । अबैध रुपमा रहेका नेपालीको समेत जोड्ने हो भने विदेशबाट दैनिक ३ वटा नेपालीको शव नेपाल भित्रिने अनुमान छ ।
सरकारी तथ्याङ्कमा अवैध बाटो भएर विदेश पुग्ने र पुगेकाहरुले श्रम स्विकृत नगरी बस्नेहरुको तथ्याङ्क नसमेटेका कारण विदेशी भुमिबाट शव आउनेको संख्या यतीनै हो भन्न गाह्रो छ ।
सरकारी तथ्याङ्कमा मलेसियामा वढि नेपालीको ज्यान गएको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मलेसियामा २ सय २९ जना नेपाली कामदारको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/०७५ यो संख्या २ सय ८९ रहेको तथ्याङ्क छ । कामदारको लागि असुरक्षित गन्तब्यको सूचीमा मलेसिया पहिलो नम्बरमा देखिन्छ ।
विदेशमा गएर पसिना बगाउनेहरुमा धेरै जसो तराई भेगका मानिसहरु रहेको सरकारी तथ्याङ्कमा छ । त्यसपछि जुन जिल्लाबाट बढी कामदार विदेश जान्छन् त्यहि जिल्लाका मानिसहरुले ज्यान गुमाएका छन् ।
विदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, खोटाङ, गुल्मी, नवलपरासी, रोल्पालगायतका जिल्लाका कामदारको बढी ज्यान जाने गरेको पाइन्छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ८२१ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डले क्षतिपूर्ति दिएको तथ्याङ्क छ । जसमा ८ सय पुरुष र २१ जना महिलाको मृत्यु भएको थियो ।
अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्ष २०७५/०७६ मा थोरै कम मानिसहरुले ज्यान गुमाएका छन् । यो आर्थिक वर्षमा ७ सय ५३ जनाको ज्यान गएको छ । जसमा ७ सय ३० जना पुरुष र २३ जना महिलालले विदेशमा देह त्याग गरेका छन् ।
सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै साढे ३८ लाख भन्दा बढी नेपाली युवा विदेशिएका छन् । त्यसमध्ये ७ हजार बढी नेपालीको विदेशी भूमिमै देह समाप्त भएको छ ।
के कारणले हुन्छ, मृत्यु ?
हृदयघात : विदेश गएर ज्यान गुमाउनेहरुमध्ये अधिकांश मानिसमा हृदयघातको समस्या देखिएको छ । दिउँसो काम गरेर परिवारसँग गफिएर सुतेको मानिस बिहान नउठेपछि बोलाउन जाँदा उसमा हृदयघात भएको पाइएको छ । बेलुका ठिकठाक सुतेका मानिस विहान जीवित नहुने यो रोग कसरी हुन्छ ?
जाडोमा हृदयघात बढी
गर्मीको तुलनामा जाडोमा हृदयघातको जोखिम बढी हुने गर्दछ । विशेषज्ञहरुका अनुसार गर्मीमा भन्दा जाडोमा हृदयघात हुने सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन् ।
चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुमा समेत यो समस्या व्यापक रुपमा देखिन थालेको छ । आजकाल मानिसहरुको अस्तव्यस्त जीवनशैलीले गर्दा हृदयघातको जोखिम बढ्दो छ । खानपानमा ध्यान नदिनु र आवश्यक शारिरिक व्यायमको नगर्नु त्यसैगरी प्रदुषित वातावरण हृदयघातको प्रमुख कारण हो ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिस हृदयघातका कारण मर्ने गर्छन् ।
हृदयघातका लक्षणहरु
हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन् । त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ । हृदयघात हुनु अघि देखिने लक्षणबारे यहाँ चर्चा गरिएको छ ।
१.खुट्टा सुन्निनु
२. अपच हुनु वा वान्ता हुनु
३. थकान महसुस हुनु
४. छाती वा पिठ्यूँमा अत्यधिक पीडा हुनु
५. सास फेर्न कठिन हुनु
६. टाउको, गर्दन वा दाँत दुख्नु
७. बेचैन हुनु, तनाव हुनु र रिंगटा लाग्नु
८. जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु
९. जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु
यदि यस्ता लक्षणहरु देखा परे बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ।
हृदयघातबाट बच्ने उपाय
१. स्वस्थ भोजनस् प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।
२. नियमित शारिरिक कसरत रव्यायाम गर्नुहोस्स् दैनिक रूपमा ३० मिनेट (आधा घण्टा) मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।
३. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्स् सूर्ति र तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी(सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।४. मुटुका केही रोगहरू जस्तै- उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।
विदेशमा बसेर फर्किनेहरु भन्छन धेरै साथीहरु सुतेको सुत्यै भए । यसको कारण भनेकै हृदयघात हो । उनीहरु भन्छन्–दिनभर धपेटिमा काम गर्छन् । गलेको शरिर असन्तुलित रुपमा खाना खान्छन् पेटमा अटसमटस खाना, कहिले भोकै, कहिले अनिँदो, त्यसैमाथि चिसो मौसममा अत्याधिक तातो बनाएर सुत्ने बानी छ, नेपालीहरुमा । यसका अलावा तातो मौसममा अत्याधिक चिसो बनाएर समेत राख्छन् उनीहरु ।
खानपान : विदेशमा मादक पदार्थ सेवन गरेर ज्यान गुमाउनेहरु पनि छन् । विभिन्न खालका केमिकलबाट रक्सि बनाएर खाने र एकैपटक धेरै मादक पदार्थ सेवन गर्ने कारणले पनि मृत्यु हुन्छ । त्यो बाहेक सडक दुर्घटना, कम्पनिमै मेसिनमा च्यापिएर नेपालीको मृत्यु हुन्छ । त्यस्तै लुटेरा समूहद्वारा कतिपय नेपालीको हत्या समेत हुने गरेको छ । आपाराधिक कृयाकलाप गरेका कारण मृत्युदण्ड समेत पाएका नेपालीहरु छन् ।
के गर्दै छ सरकार ?
नेपाल सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेरोजगार युवालाई रोजगार दिने योजना बनाएको थियो । यो प्रभावकारी रुपमा लागू भएन । सरकारले सहुलियत रिणका लागि आह्वान ग-यो त्यसमा हजारौ युवाहरुले फाइल बुझाए ती फाइलमा अहिले धमिराले घर बनाएको हुनुपर्छ ।
एकातिर नेपाल सरकारले आफ्ना युवाहरुलाई देशमा केहि गर्न सकेको छैन । अर्कोतिर वैदेशिक रोजगारमा गएकाहरुलाई सुरक्षित बनाउन सकेको छैन् । अर्थात नेपाली कामदारहरुको मृत्युदर घटाउन कुनै योजना तयार पारेको पाइदैन । बरु हरेक वर्ष रेमिट्यान्स बढेको कुरा छाती फूलाएर गर्व गर्नमा नै व्यस्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया