२०७४, ११ माघ बिहीवार १८:३७

विज्ञ भन्छन्, रानीपोखरी मल्लकालीन र बालगोपालेश्वर ग्रन्थकूट शैलीमा बनाऊ


प्रकाशित मिति : २०७४, ११ माघ बिहीवार १८:३७

काठमाडौँ, ११ माघ – रानीपोखरी पुनःनिर्माण गर्न गठित विज्ञ समूहले पोखरी प्रताप मल्लकालीन र बालगोपालेश्वर मन्दिर ग्रन्थकूटशैलीमा बनाउन सुझाव दिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो विज्ञ समूहले यही माघ ३ गते स्थानीयवासी र नागरिक समाजसँग सुझाव सङ्कलन गरी काठमाडौँ महानगरपालिकालाई माघ ७ गते प्रतिवेदन बुझाउँदै मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भएकाले सोहीअनुरुप निर्माण गर्न सुझाव दिएको हो पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित समूहले पुनःनिर्माणका लागि तीन चरणका सुझाव दिएका छन् । पहिलो चरणअन्तर्गत प्रताप मल्लकालीन ग्रन्थकूट (शिखर)शैलीको प्रमाणित रुपमा चारैतर्फका ढोकाका ठेलोसमेत प्राप्त भएको हुँदा र पुरानो कोरिएको चित्रसमेतका आधारमा मन्दिरको विस्तृत विवरण तयार गरी ग्रन्थकुट शैलीमा मन्दिर निर्माण आरम्भ गर्ने, पोखरीका विभिन्न अवस्था र स्थितिलाई पत्ता लगाई परम्परागत स्वरुपमा जीर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसन्धान अघि बढाउने, पानीको स्थायित्वका लागि कार्ययोजना बनाई कार्यारम्भ गराउनुपर्ने, पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा सञ्चालित पानीका स्रोतको अनुसन्धान गरिनुपर्ने सुझाव दिइएको छ दोस्रो चरणअन्तर्गत पोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचना हटाई पुरानै स्वरुपमा निर्माण गर्न तथा हाल पोखरीको पूर्र्व र दक्षिणतर्फको आधा भागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिल बचाउन सुझाव दिइएको छ तेस्रो चरणमा जीर्णोद्धारपछि पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौन्दर्यीकरण गर्न तथा चारैकुनामा निर्मित मन्दिरलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक क्रियाकलाप पुनःसञ्चालन गर्न भनिएको छ ‘विष्णुतीर्थ’स्थित बालगोपालेश्वर मन्दिरमा सञ्चालन हुने वार्षिक भाइटीका, छठजस्ता कार्यक्रमलाई जीवन्तता प्रदान गर्न, पोखरीको उत्तरतर्फ निर्माण भएका भवन हटाई परम्परागत रुपमा सञ्चालन भइआएको चांगुनारायणको कलशयात्रा विश्रामस्थल भएको ठाउंँको सम्पदालाई मर्मतसम्भार गरी सोको सांस्कृतिक महत्वलाई अभिवृद्धि गर्न र प्रताप मल्लसहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्न आग्रह गरिएको छ प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको निधनमा वेदनामा परेकी रानीको चित्त शान्ति गर्न न्हुरपुखुर अर्थात् न्हुपुखु) अर्थात् नयाँपोखरी बनाएका थिए । पोखरीको निर्माण नेसं ७८९ (विसं १७२५) मा र शिलापत्र नेसं ७९० (विसं १७२७) मा राखिएको थियो इतिहासककार प्राज्ञ प्रा डा दिनेशराज पन्तले भन्नुभयो,“ पुनःनिर्माणमा राजनीति चलखेल भएको छ, यसको छानविन गरी मल्लकालीन शैलीमा नै पोखरी र मन्दिरको निर्माण गरी ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ ।”अध्ययन गर्दा पुरानै शैलीमा पोखरीको पुनःनिर्माण गर्न सम्भव भएकाले सोहीअनुरुप निर्माण गर्नाको विकल्प नभएको इन्जिनीयर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल बताउनुहुन्छ । स्थानीयवासी इन्द्रप्रसाद श्रेष्ठले पनि ऐतिहासिक सम्पदा ऐतिहासिक रुपमा नै निर्माण गरिनुपर्छ भन्दै आधुनिक रुपमा निर्माण भए आफूहरुलाई मान्य नहुने बताउनुभयो । स्थानीयवासी रागम श्रेष्ठले स्थानीयवासीसँग सहमति नै नलिई कुनै पनि सम्पदाको मर्मत गर्न नपाइने बताउँदै भन्नुभयो, “ अब रानीपोखरीको पुनःनिर्माण गर्दा सहमतिमा नै गर्नुपर्छ, सम्पदा कसैको व्यक्तिगत सम्पत्ति होइन, विचार गरेर काम गर्नुपर्छ ।”बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरका चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिर शैलीको खाकाबाट प्रष्ट हुन्छ । उक्त चित्र इसं १८४५ फेब्रुअरीमा तात्कालिक प्रसियाका राजकुमार वाल्डमार नेपालमा घुम्न आउँदा उनीसँगै आएका कलाकारले बनाएका हुन् प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ जसमध्ये उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेशको मन्दिर छन् । मूल रानीपोखरीको लम्बाइ १८० मि र चौंडाइ १४० मि रहेको छ । रानीपोखरीको पवित्रता र महत्वपूर्ण धार्मिकस्थलका रुपमा परिणत गर्न ५० भन्द बढी तीर्थस्थलका जल त्यहाँ खनाइएको थियो रानीपोखरीमा जम्ने पानीलाई स्थायित्व दिन पोखरीका चारै कुनामा ढुंगेधाराको निर्माण गर्नु र तिनका निस्किएका र वर्षात्को पानी पोखरीमा प्रवेश गराउन अपनाइएका प्रविधि एवं पोखरीको पानीको निकास व्यवस्थापन अति नै महत्वपूर्ण विषय हुन् जमिनको पीँधमा रहेको जरुवा पानीभन्दा माथि बालुवा र कालोमाटाको विभिन्न सतह बनाई पानी सञ्चय व्यवस्थापनमा पाइने परम्परागत प्रविधिको प्रयोगले रानीपोखरीको महत्वलाई उजागर गर्छ । रानीपोखरीको दक्षिणपश्चिमतर्फ गरिएको उत्खननबाट पोखरीको पर्खालको शैलीको स्वरुप प्राप्त भएको विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस