‘स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ’

झापा, ११ माघ । झापामा १९ हजार जनाभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् असोज २५ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा १९ हजार २१२ जना आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुस्वाहले जानकारी दिए । स्वास्थ्य बीमा गराउने घरधुरीको संख्या चार हजार २५६ रहेको छ जिल्लामा कार्यक्रम लागू भएसँगै सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको प्रबन्धक कुस्वाहले बताए । “स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ” उनले भने, “घरघरमा गएर बीमा गराइँदैछ ।”जिल्लामा १९२ स्वास्थ्य बीमा अभिकर्ताले स्वास्थ्य बीमा गराइरहेका छन् । झापामा उक्त सेवा लिनका लागि बनियानी स्वास्थ केन्द्र, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमकलाई तोकिएको छ पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० सेवा शुल्क तिरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले रु ४२५ अतिरिक्त तिरेर सदस्य बन्न पाउने छन् । सदस्य भएपश्चात सो परिवारलाई वार्षिक रु ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?